विराटनगर ८ चैत । मानव जीवनको सर्वपक्षिय विकासका निम्ति योगसाधना अपरिहार्य रहेको विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन ।
विराटनगर–९ स्थित शिक्षादीप कलेजले विद्यार्थीलाई लक्षिगरि मंगलबार आयोजना गरेको एकदिने योग प्रशिक्षण शिवीरमा बोल्ने योग प्रशिक्षक र सम्बद्ध वक्ताहरुले यस्तो बताएका छन । योग मानव स्वास्थ्य र नैतिक विकाससंग सम्बद्ध रहेकाले जीवनकालागि अपरिहार्य रहेको उनिहरुले बताएका थिए । कार्यक्रममा बोल्नुहुँदै विराटनगर महानगरपालिकाका मेयर एवम शिक्षादीप कलेजका अध्यक्ष भिम पराजुलीले असल मानव जीवनकालागि मानसिक र शारिरीक प्रगति आवश्यक रहेको बताउनुभयो ।
उहाँले योगबाट आध्यात्म,नैतिकता,स्वास्थ्य तथा मानसिक र शारिरीक सर्वांगिण विकास सम्भव हुने भएकाले योग मानव जीवनकालागि अपरिहार्य रहेको बताउनुभयो । पतंजली योग समिति मोरङका अध्यक्ष ध्रुव तामाङले योगले सिंगो मानव जीवनलाई सकारात्मक बनाउने तथा विद्यार्थी जीवनकालागि अझ उपयोगि हुने बताउनुभयो । हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलले योगसाधना विद्यार्थीहरुको सक्रिय जीवन तथा चरित्र निर्माणमा उपयोगि हुने भएकाले नियमित जीवनमा योगलाई समावेश गर्नुपर्ने बताउनुभयो ।
शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले विद्यार्थीहरुको शैक्षिक,शारिरीक,मानसिक,आध्यात्मिक सहित समग्र ब्यक्तित्व विकासकानिम्ति पतंजलि योग समिति मोरङको प्राबिधिक सहयोगमा योग प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कार्यक्रमका सहभागि कलेजमा अध्यनरत विद्यार्थीलाई भारतको हरिद्वारस्थित पतंजली पीठबाट आउनुभएकी साध्वी देवा र साध्वी द्विविजयाले योग सम्बन्धि प्रशिक्षण दिनुभयो ।
सो अवसरमा चारतले कलेज भवनको माथिल्लो तल्लामा निर्माण गरिएको सुविधा सम्पन्न सभाहलको उदघाटन समेत गरिएको थियो । विद्यार्थीलाई योग साधना,क्वीज प्रतियोगिता,बादविवाद सहितका अतिरिक्त क्रियाकलाप गर्न उपयोगि हुनेगरि सो सभाहलको निर्माण गरिएको कलेजका साईन्स कोअर्डिनेटर बसन्त बस्नेतले बताउनुभयो ।
ब्यवस्थापन र विज्ञानको अध्यापन हुने सो कलेजमा १२० विद्यार्थी अध्यनरत छन ।