विराटनगर ७ चैत । जिल्ला प्रहरी कार्यालय मोरङले म्यादी प्रहरीको भर्ना प्रक्रिया सुरु गरेको छ ।

आगामी बैशाख ३० मा हुने निर्वाचनका लागि आवश्यक पर्ने म्यादी प्रहरीका लागि आवेदन लिने काम सुरु भएपछि विराटनगर–१ पोखरियास्थित जिल्ला प्रहरी कार्यालय सामुन्ने हिजोआज कार्यालय समय सुरु हुनु अगावैदेखि युवायुवतीहरुको भीड लाग्ने गरेको छ । आइतबारबाट मोरङ प्रहरीले आवेदन लिन थालेपछि म्यादी प्रहरीका लागि फर्म भर्न युवायुवतीहरुको भीड लाग्ने गरेको हो । जिल्लाका विभिन्न स्थानबाट आएका युवायुवती सहित भुपु प्रहरी र सुरक्षा गार्डको रोजगार गरिरहेका व्यक्तिहरुसमेत म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिइरहेका छन् ।

म्यादी प्रहरीमा भर्नाकालागि आवेदन दिने ब्यक्तीहरुको बढी चाप हुने अवस्थालाई ध्यानमा राखेर मोरङ प्रहरीले कार्यालय परिसरको दक्षिणतर्फको खाली फिल्डमा अस्थायी टेन्ट राखेर आवेदनको फाइल रुजु गर्ने डेस्क स्थापना गरेको छ भने जिल्ला प्रहरीको गेटमै रहेको कोठाबाट फर्म वितरण गर्ने ब्यवस्था मिलाएको छ । म्यादी प्रहरीमा भर्नाको आवेदन दिन शिक्षित बेरोजगार मात्र नभई भुतपुर्व प्रहरी र सुरक्षा गार्डको काम गरिरहेका ब्यक्तीहरु समेत जिल्ला प्रहरी कार्यालय पुगिरहेका छन ।

म्यादी प्रहरीका लागि १८ देखी ५४ बर्ष उमेर समुहका महिला पुरुषले आवेदन दिनसक्ने ब्यवस्था गरिएको छ । म्यादी प्रहरीका लागि छनौट हुने ब्यक्तीले ४० दिनसम्म निर्वाचन क्षेत्रमा खटिनुपर्ने जनाइएको छ । यसपटकको म्यादी प्रहरीमा आवेदन दिनेहरुमा उल्लेख्य संख्याका युवती र महिलाहरु समेत सहभागी भइरहेका छन । आवेदन दिने महिलाहरुमा अध्ययन सकेर घरमै बसेका विद्यार्थीदेखि गृहणीहरुसमेत रहेका छन् ।

म्यादी प्रहरीमा छनौट हुने ब्यक्तीले ४० दिन काम गरेबापत ३० हजार २४० रुपैयाँ तलब, राशन वापत ७ हजार २ सय, पोशाक वापत ६ हजार र कार्यस्थलमा खटिन यातायात वापत १ हजार रुपैयाँ खर्च पाउने जनाइएको छ । मोरङमा ३ हजार ७ सय २७ जना म्यादी प्रहरी भर्ना लिने जनाइएको छ ।

आवेदनका लागि चैत ६ बाट ११ गतेसम्मको मिति निर्धारण गरिएको छ ।

सम्बन्धित खबरहरु