विराटनगर २ चैत । मद्यपान र नशालु पदार्थरहित होलीपर्व मनाउनुपर्ने बिषयमा विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन ।
सामुदायिक प्रहरी सेवा केन्द्र रानीले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन । रानीस्थित क्यान सेन्टरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै आयोजक संस्थाका अध्यक्ष किशोर सुब्बाले पछिल्लो समय होलीमा बिकृति बढदै गएको बताउनुभयो । होली सांस्कृतिक पर्व रहेपनि त्यसलाई ओझेलमा पार्नेगरि मादक पदार्थ सेवन गरेर होहल्ला तथा झैंझगडा गर्ने प्रबृति बढदै गएकाले यस्तो प्रबृतिलाई निरुत्साहित गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश राउतले होली भन्दै मादक पदार्थ सेवन गरेर जथाभावी सवारीसाधन कुदाउने प्रबृति देखिएकाले प्रत्येकबर्षको होलीमा दुर्घटना बढने गरेको विगतको अनुभव रहेको बताउनुभयो । उहाँले बितेको २ दुई बर्षयताको कोरोनाकालिन अवस्थाका कारण धेरै मान्छे बेरोजगार भएकाले पनि विभिन्न किसिमका अपराधजन्य घटनाहरुमा बृद्धि हुनसक्नेप्रति पनि सर्वसाधारण सचेत रहनुपर्ने बताउनुभयो ।
आयोजक संस्थाका सचिव अर्जुनकुमार क्षेत्रीले होलीमा हुने बिकृति नियन्त्रण प्रहरीले मात्र गर्न सम्भव नहुने भएकाले सर्वसाधारण सचेत हुनुपर्ने विचार ब्यक्त गर्नुभयो । कार्यक्रममा समाजसेवी गोपालप्रसाद साह,प्रहलाद बस्नेत,किशोर शाही जोगबनी नगरपञ्चायतका पुर्व उपमेयर नरेशप्रसाद लगायतले होली सभ्य र सांस्कृतिक रुपमा मनाउनुपर्ने बिषयमा जोड दिनुभयो ।