विराटनगर १ चैत । मैथिल ब्राह्मण सभा यूवा समितिले विराटनगरस्थित जनजाती कल्याण आश्रममा होलीको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
समितिले विराटनगर ७ स्थित आश्रम परिसरमा रहेको आमाको माया छात्राबासका विद्यार्थीहरुबीच होलीको शुभकामना साटासाट गरेको छ । होली आपसी सदभाव र सबैखाले विभेदहरुको अन्त्यगर्ने सांस्कृतिक पर्वकारुपमा मनाउने गरिएकाले छात्राबासका आश्रित विभिन्न समुदायका विद्यार्थीबिच कार्यक्रम गरिएको आयोजक संस्थाका अध्यक्ष मनोजकुमार मिश्रले बताउनुभयो ।
सो अवसरमा सहभागि समितिका पदाधिकारी,विद्यार्थी र छात्राबासका पदाधिकारीहरुले एकअर्कालाई अबिर साटासाटगर्दै होलीको शुभकामना आदान प्रदान गरेका थिए । उक्त छात्राबासमा धर्मसंस्कृतिलाई केन्द्रबिन्दु बनाई १७ जना छात्रहरु अध्ययनरत छन । सो अवसरमा बोल्नुहुँदै जनजाति कल्याण आश्रमका अध्यक्ष मदन साहले संस्कारित नागरीक तयार गर्ने उद्धेश्यसहित जनजाति कल्याण आश्रमले आमाको माया छात्रावास संचालन गरिहेको बताउनुभयो ।
आदिवासी जनजाति समुदायमा धर्मपरिवर्तन ठुलो समस्याकोरुपमा देखिएकाले आश्रमले मौलिक संस्कृति संरक्षणका निम्ति काम गरिरहेको समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा जनजाति कल्याण आश्रमका सल्लाहकार शिवरतन जोशी,संगठन मन्त्री मिलन भट्ट र मैथिल ब्राह्मण सभा यूवा समितिका सचिव सुरज मिश्र तथा सल्लाहकार बरुण मिश्रा लगायतको सहभागिता थियो ।