विराटनगर २८ फागुन । विराटनगरस्थित दिब्यज्योती अस्पतालले जेष्ठ नागरीकहरुको आँखा परीक्षण तथा उपचारगर्दै २० औं जलबिन्दु सचेतना सप्ताह समापन गरेको छ ।
नगरक्षेत्रको वडानम्बर ८ अशोकचोकमा रहेको बिराटेश्वर बृद्धाश्रमका ६२ जना आश्रित जेष्ठ नागरीकहरुको आँखा परीक्षण तथा उपचारगर्दै सो अस्पतालले जलबिन्दु सचेतना सप्ताह समापन गरेको हो । अस्पतालका जलबिन्दु रोग बिशेषज्ञ डाक्टर प्रमोद गौतम र नेत्ररोग विशेषज्ञ डाक्टर उदयानन्द सहित स्वास्थयकर्मीको टिमले बृद्धाश्रमका आश्रित बिरामीहरुको उपचार गर्नुभयो । बृद्धाश्रमका आश्रित आछाम पर्सुराम कुण्डका १०२ बर्षिय बलराम आचार्यको आँखा परीक्षणगर्दै त्यसठाँउमा आँखा शिवीर शुरु गरिएको थियो ।
उपचारको क्रममा आचार्यको आँखामा गम्भीर प्रकृतिको मोतियाबिन्दु देखिएका कारण उनलाई शल्यक्रियाकालागि मलायारोडस्थित अस्पताल लगिने अस्पतालले जनाएको छ । शिवीरमा ८० बर्षभन्दा माथिका १५ जनासहित ६२ जनाले उपचार सेवा लिएका थिए । सो क्रममा थप १४ जनामा मोतियाबिन्दु तथा जलबिन्दुको समस्या देखिएपछि उनिहरुलाई समेत अस्पताल लगेर उपचार तथा शल्यक्रिया गरिने जनाइएको छ । उपचारको क्रममा बिरामीहरुलाई चश्मा र औषधि समेत निशुल्क उपलब्ध गराइएको थियो ।
सो अवसरमा बोल्नुहुँदै दिब्यज्योती अस्पतालका अध्यक्ष कमलेश कर्णले फागुन २२ बाट शुरु भएको जलबिन्दु सचेतना सप्ताह अन्र्तगत आँखामा लाग्ने घातक जलबिन्दु रोगका बिषयमा पर्चा पम्पलेट वितरण,बिरामीहरुलाई काउन्सिलिङ तथा विभिन्न माध्यमहरुको प्रयोगगरि सचेतना फैल्याउने कार्यक्रमहरु गरिएको बताउनुभयो । अस्पतालका निर्देशक देवा यादवले जलबिन्दु सप्ताह कार्यक्रम अन्र्तगत नै बृद्धाश्रमका आश्रित जेष्ठ नागरीकहरुको आँखा स्क्रिनिङ,उपचार र शल्यक्रियाको ब्यवस्था गरिएको बताउनुभयो ।
उहाँले शिविरमा शल्यक्रियाको आवश्यकता देखिएका विरामीलाई अस्पतालमै लगेर अप्रेशन,औषधि,चश्मा,खाना,आवास तथा यातायात लगायतका सबैकुरा निशुल्क गरिएको जानकारी दिनुभयो । बृद्धाश्रमका संचालक जगत प्रसाद अज्र्यालले अस्पतालले आश्रमस्थलमैं पुगेर सेवा दिएकाले हिंडडुलगर्न समस्या रहेका अशक्त जेष्ठ नागरीकहरुले समेत सहजरुपमा सेवा लिन सम्भव भएको बताउनुभयो ।