विराटनगर २२ फागुन । पछिल्लो समय उपभोग्य बस्तुमा भएको मूल्य वृद्धिको मुख्य कारण अन्तर्राष्ट्रिय परिवेश रहेको मोरङका उद्योगी व्यवसायीहरुले बताएका छन् ।

युक्रेन–रुसको युद्धका कारण महँगी वृद्धि भए पनि त्यसको दोष उद्योगी व्यवसायीलाई थोपरिएको उनीहरुको गुनासो छ । अझै महँगी बढ्ने सम्भावना रहेकाले मूल्यवृद्धि नियन्त्रण गर्न बेलैमा ठोस नीति ल्याउन उद्योगी ब्यवसायीले सरकारलाई सुझाव दिएका छन् । मोरङ व्यापार संघले आइतबार ‘महँगीको मार, सरकार बनौं जिम्मेवार’ नारासहित पत्रकार सम्मेलनको आयोजना ग¥यो । पछिल्ला केही समययता अचाक्ली मूल्यवृद्धि भएको तथा त्यसको जिम्मेवार उद्योगी–व्यवसायीलाई बनाउने प्रवृत्ति हाबी भएकाले अवस्थाका विषयमा जानकारी गराउन पत्रकार सम्मेलन आयोजना गरिएको मोरङ ब्यापार संघले जनाएको छ ।

ऋणको उपलब्धतामा कमि तथा युक्रेन–रुसको युद्धका कारण अन्तर्राष्ट्रियस्तरमै पेट्रोलियम पदार्थसहित कच्चापदार्थको मूल्यवृद्धि भएका कारण उपभोक्तासँग प्रत्यक्ष जोडिएका खाद्यान्न तथा निर्माणलगायतका सबै वस्तुहरुको मूल्यवृद्धि भएको उद्योगी व्यवसायीहरुले बताएका छन् । मोरङ व्यापार संघका पूर्वअध्यक्ष महेश जाजुले मूल्यवृद्धिमा उद्योगी व्यवसायीको कुनै दोष नरहेको दाबी प्रस्ट्याउनुभयो । अन्तर्राष्ट्रिय बजारमा ६ महिनाअघिदेखि नै मूल्यवृद्धि हुँदै आएकोमा पछिल्लो समयको युद्धले त्यसले थप तीव्रता पाएको उहाँको भनाइ थियो ।

मूल्यवृद्धिमा व्यापारीलाई दोषीका रुपमा हेर्न थालिए पनि वास्तविकता त्यस्तो नभएको संघका निर्वतमान अध्यक्ष प्रकाश मुन्दडाले बताउनुभयो । राज्यको नीतिले नै अनुत्पादक क्षेत्रलाई प्रश्रय दिइरहेकाले तथा पछिल्लो अन्तर्राष्ट्रिय अवस्थाका कारण मँहगी चुलिंदै गएको उहाँको भनाइ छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले ढुवानीसहित अन्य धेरै क्षेत्र प्रभावित भएकाले महँगी बढेको उद्योगी व्यवसायीले बताएका छन् । संघका पूर्वअध्यक्ष ताराचन्द खेतानले केही समय अघिसम्म कोरोनाले थलिएको बजार पछिल्लो अन्तर्राष्ट्रिय अवस्थाका थप संकटग्रस्त भएको बताउनुभयो । यस्तो अवस्था नियन्त्रण गर्न सरकार थप संवेदनशील हुनुपर्ने उहाँले बताउनुभयो ।

संघका अध्यक्ष नवीन रिजालले अन्तर्राष्ट्रिय बजारको अवस्था अस्थिर भइरहने तर सरकारको नीति लामो समयसम्म एकै नाश रहिरहने अवस्थाले जटिलता उत्पन्न भएको बताउनुभयो । सरकारले कच्चापदार्थको आयात मूल्यमा लाग्ने करमा केही मात्र छुट गरिदिए पनि अवस्था केही सहज हुने बताउनुभयो । मोरङ व्यापार संघले मूल्य वृद्धिलाई नियन्त्रणमा राख्न अवलम्ब गर्न सकिने १० बुँदे सुझाव समेत सरकारलाई दिएको छ ।

जसअनुसार बजेट भाषणमार्फत भन्सार शुल्क निर्धारण गर्ने परिपाटी अन्त्य गर्दै महँगीलाई ध्यानमा राखेर कुनै पनि बखत भन्सार महसुल घटबढ गर्न सकिने व्यवस्था गरिनुपर्ने सुझाव दिइएको छ । यस्तै सरकारले खाद्य संस्थान, साल्ट ट्रेडिङ, नेश्नल ट्रेडिङ जस्ता सरकारी निकायमार्फत खाद्य वस्तुको अतिरिक्त स्टक राख्ने व्यवस्था गरिनुपर्ने, स्वदेशी उद्योग र कृषकको संरक्षणका लागि ऋणमा अधिकतम ५ देखि ७ प्रतिशत ब्याजदर कायम गर्नुपर्ने, स्वदेशी आत्मनिर्भरता बढाउनुपर्ने, बैंकले स्वदेशी उद्योग र कृषकलाई सहुलियत दरमा प्राथमिकताका साथ ऋण उपलब्ध गराउनुपर्ने सुझाव दिइएको छ । यसैगरी उत्पादकत्व बढाउन आवश्यक रणनीति ल्याउनुपर्ने तथा स्वदेशी उद्योग प्रवद्र्धन तथा आयात प्रतिस्थापन गर्नसमेत बिशेष नीति ल्याउनुपर्ने उद्योगीहरुले सरकारलाई सुझाव दिएका छन् ।


संघले उद्योगकालागि ५० प्रतिशत छुट र कृषककोलागि निशुल्क विद्युत उपलब्ध गराउनुपर्ने,खाद्य सामान,औद्योगिक कच्चा पदार्थ र तयारी बस्तुहरुको ढुवानीको लागत घटाउन डिजेलमा सरकारले करको दायरा घटाउनुपर्ने तथा नीति निर्माण गर्ने सरकार र नीति पालना गराउने राष्ट्र सेवक कर्मचारीहरु जनताको समस्याप्रति संवेदनशील एवं उत्तरदायी हुने नीति ल्याइनुपर्ने संघले प्रस्तुत गरेको सुझावमा समावेश छ ।

सम्बन्धित खबरहरु