विराटनगर १५ फागुन । महाशिवरात्री नजिकिएसंगै विराटनगरको ऐतिहासिक धार्मिकस्थल मण्ठा पोखरि क्षेत्रको सरसफाई गरिएको छ ।
सामुदायिक प्रहरी सेवा केन्द्र रानीको अगुवाईमा आज बिहान मण्ठा पोखरि क्षेत्रको सरसफाई गरिएको हो । सरसफाईमा ईलाका प्रहरी कार्यालय रानी, १ नम्बर प्रदेश सशस्त्र प्रहरी गण,नागरीक समाज र लायन्स क्लब अफ विराटनगर मिल्स एरियाले सहभागिता जनाएका छन । सरसफाईको क्रममा विराटनगर १४ रानीस्थित मण्ठा पोखरि वरिपरिको चौर र बाणेश्वरनाथ महादेव मन्दिर परिसरको सरसफाई गरिएको छ । महाशिवरात्रीको अवसरमा मण्ठा पोखरि परिसरमा हरेकबर्ष ठुलो धार्मिक मेला लाग्ने गरेकाले त्यसअघि सरसफाई गरिएको सामुदायिक प्रहरी सेवा केन्द्र रानीका अध्यक्ष किशोर सुब्बाले बताउनुभयो । महाशिवरात्रीको पर्व शुरु हुनुअघि नै प्रहरी र नागरीक समाजसंगको सहकार्यमा सरसफाई कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।
सो क्रममा मण्ठा पोखरिक्षेत्रको १ बिग्घा बढी क्षेत्रफलको सरसफाई गरिएको आयोजक संस्थाका सचिव अर्जुनकुमार क्षेत्रीले बताउनुभयो । यसबर्ष फागुन १७ गते महाशिवरात्रीकादिनबाट शुरु हुने धार्मिक मेला तीनदिनसम्म चल्ने बाबा बाणेश्वरनाथ शिव मन्दिर, मण्ठा पोखरिका अध्यक्ष गंगाप्रसाद यादवले बताउनुभयो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश राउत,सशस्त्र प्रहरी गणका सई कृष्णप्रसाद भट्टराई,समाजसेवी अनन्तलाल यादव,लायन्स क्लब मिल्स एरियाका प्रहलाद बस्नेत लगायतको सहभागिता रहेको थियो ।