विराटनगर १४ फागुन । नेपाल मुस्लिम संघका मोरङ जिल्ला सदस्य मोहम्मद रुस्तम जनता समाजबादी पार्टी नेपालमा प्रवेश गरेका छन ।

जसपाको वडा इकाई समिति विराटनगर १५ ले आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमकाबीच नेपाली काँग्रेसको भातृ संगठन मुस्लिम संघका जिल्ला सदस्य रुस्तम, उपेन्द्र यादव नेतृत्वको जनता समाजबादी पार्टीमा प्रवेश गरेका छन । प्रदेश एकका स्वास्थ्य मन्त्री जयराम यादवले रुस्तमलाई पार्टीमा प्रवेश गराउनुभयो । सो क्रममा जसपाका केन्द्रीय सदस्यहरु भोगेन्द्र यादव,नन्हे मियाँ,भुराज राई, जसपाका जिल्ला अध्यक्ष एवम प्रदेश उपाध्यक्ष राजकुमार यादव,नगर अध्यक्ष अम्रेन्द्र यादव,उपाध्यक्ष मोहम्मद नसरुल, जिल्ला कार्यकारिणी सदस्य मन्तलाल यादव, युवा नेता राकेश रोसन यादव र महिला नेतृ सदिना खातुन लगायतले उहाँलाई पार्टीमा स्वागत गर्नुभयो ।

रुस्तम यसअघिको स्थानिय तहको निर्वाचनमा लोकतान्त्रीक फोरमबाट वडानम्बर १५ को वडाध्यक्ष पदको उम्मेद्वार हुनुभएको थियो । जसपाबाट निर्वाचित वडानम्बर १५ का वडाध्यक्ष असलम आलमले केहिदिन अघि पार्टी परित्यागरि नेपाली काँग्रेसमा प्रवेश गरेयता रुस्तमको जसपा प्रवेशलाई पार्टी पंक्तीले बिशेष महत्व दिएको बताइएको छ ।

रुस्तमसंगै उहाँकै नेतृत्वमा वडानम्बर १५ का विभिन्न पार्टी छोडेर झण्डै २ सय जना र वडानम्बर १७ मा आयोजित कार्यक्रमकाबीच निर्वाचित वडाध्यक्ष समिम कमरको नेतृत्वमा ५ दर्जन बढीले जसपामा प्रवेश गरेको सो पार्टीका वडानम्बर १५ अध्यक्ष गोपालप्रसाद साहले बताउनुभयो ।

सम्बन्धित खबरहरु