विराटनगर १२ फागुन । नेपाल अग्रवाल यूवा मञ्च विराटनगरको आयोजनामा नवौं संस्करणको मारवाडी प्रिमियर लिग (एमपिएल) क्रिकेट प्रतियोगिता शूरु भएको छ । बुधबार भएको उद्घाटन खेलमा प्रिमियर–११ र परर्शुराम वारियर्स विजयी भएका छन् ।
पहिलो खेलमा प्रिमियर–११ ले म्याजिक स्ट्राइकर्सलाई ४६ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको प्रिमियरले निर्धारित १० ओभरमा ८ विकेट गुमाई १ सय १८ बनायो । जस्मा म्यान अफ द म्याच अमित अटलले ४७ रन र हरिष अग्रवालले २६ रनको योगदान दिए । म्याजिकका रोहित अग्रवालले सर्वाधिक ३ विकेट लिए । जवाफ १ सय १९ रनको विजयी लक्ष्य पछ्याएको म्याजिकले निर्धारित ओभरमा ७ विकेट गुमाई ७२ रन मात्र जोड्न सक्यो । जस्मा सुभम अग्रवालले सर्वाधिक १९ रनको योगदान दिए । प्रिमियरमा रोहित सावूले सर्वाधिक ३ विकेट लिए ।
दोस्रो खेलमा पर्शुराम वारियर्सले सिएसवि–११ लाई ७ विकेटले पाराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सिएसवि–११ ले निर्धारित १० ओभरमा ८ विकेट गुमाई ७७ रन बनायो । जसमा जय सोनीले सर्वाधिक २४ रनको योगदान दिए । पर्शुरामका म्यान अफ द म्याच अरुण शर्माले २ विकेट लिए ।
जवाफमा ७८ रनको लक्ष्य पाएको पर्शुरामले ८ दशमलव २ बलमा ३ विकेट गुमाई लक्ष्य पार गरेको थियो । जसमा कुलदिप गौरले २६ रन बनाउँदा विनोद शर्माले अविजित २० रन बनाए । सिएसविका सुमित सोनी, मनोज सोनी र विकाश सोनीले समान १–१ विकेट लिए ।
तेस्रो खेलमा प्रिमियर–११ ले हुलास–११ लाई १३ रनले पराजित गरेको छ । प्रिमियरको यो लगातार दोस्रो जित हो । टस हारेर ब्याटिङ गरेको प्रिमियरले निर्धारित १० ओभरमा ७ विकेट गुमाई ८७ बनायो । जसमा अमित अटलले ३४ रन जोड्दा केशव महेश्वरीले १५ रनको योगदान दिए । हुलासका अरियन्त वैधले सर्वाधिक ४ विकेट लिए । जवाफ ८८ रनको विजयी लक्ष्य पछ्याएको हुलासले निर्धारित ओभरमा ८ विकेट गुमाई ७४ रन मात्र जोड्न सक्यो । जस्मा सुभम लुनियाले १७ रन बनाउँदा सिद्धार्थ सेठियाले १७ रनको योगदान दिए । प्रिमियरमा म्यान अफ द म्याच वेदान्त जाजुले सर्वाधिक ४ विकेट लिए ।
विहिबारको पहिलो खेल प्रिमियर–११ र सिएसवि–११ , दोस्रो खेल हुलास ११ र पर्शुराम वारियर्स तथा तेस्रो खेल सिएसवि–११ र म्याजिक स्ट्राइकर्स विच प्रतिस्पर्धा हुने छ ।