विराटनगर ९ फागुन । विराटनगर १६ स्थित दुर्गा मन्दिर परिसरमा सुविधा सम्पन्न सामुदायिक भवन निर्माण गरिएको छ । १ करोड २५ लाखको लागतमा उक्त मन्दिर परिसरमा ‘दुर्गा मन्दिर सामुदायिक भवन’को निर्माण गरिएको हो ।
नवनिर्मित भवनको सोमबार एक कार्यक्रमकाबीच विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीलले उद्घाटन गर्नुभयो । सो सामुदायिक भवनमा एक कोठा तथा ठुलो हल र अटैच बाथरुम निर्माण गरिएको छ । भवनको पहिलो तल्लाको निर्माण पुर्णरुपले सम्पन्न भएको छ भने माथिल्लो तलाको निर्माण भने जारी छ । भवन निर्माणकालागि सम्बन्धित विराटनगर १६ को वडा कार्यालयले ५ लाख,प्रतिनिधि सभा सदस्य शिवकुमार मण्डलले सांसद विकास कोषबाट १५ लाख र विराटनगर महानगरपालिकाले १ करोड १० लाख रकम बिनियोजन गरेको दुर्गा मन्दिरका अध्यक्ष गोपालप्रसाद साहले जानकारी दिनुभयो । सामुदायिक भवनको निर्माण भएपछि स्थानिय सर्वसाधारणलाई संस्कृति अनुसारको कर्मकाण्डगर्न सहज हुने साहले बताउनुभयो ।
सामुदायिक भवन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै महानगरका मेयर पराजुलीले महानगरको सो दक्षिणी क्षेत्र बिगतमा विकास निर्माणमा उपेक्षामा परेको बताउनुभयो । उहाँले सरोकारवाला सबैको समन्वयमा उक्तक्षेत्रको विकासलाई गतिदिन महानगर प्रतिबद्ध रहेको बताउनुभयो । नेपाली काँग्रेसका प्रदेश सदस्य तथा युवा नेता राजेश कुमार गुप्ताले महानगरको दक्षिणीक्षेत्रले राजनितिक आन्दोलनदेखी खेलकुद र औद्योगिकरण समेतमा नेतृत्व प्रदान गर्दै आएपनि पछिल्लो समय यो क्षेत्रले विकास निर्माणमा उपेक्षा खेप्नुपरेको विचार ब्यक्त गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेसका नगर अध्यक्ष दिपक चापगाई,रानी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष किशोर सुब्बा र दुर्गा मन्दिरका सल्लाहकार केशवलालसिंह सुवाल लगायतले मनतब्य राख्नुभयो ।
कार्यक्रमकाबीच सामुदायिक भवन निर्माणमा खेलेको भुमिकाको कदरगर्दै मेयर पराजुलीलाई दोसल्ला र कदरपत्र सहित सम्मान गरिएको थियो । यस्तै अन्य सहयोगि र दाताहरुलाई समेत प्रशंसापत्र सहित सम्मान गरिएको थियो ।