विराटनगर २२ माघ । सिमाबर्ती भारतीय बजार जोगबनी नजिकै रहेको क्षतिग्रस्त मीरगञ्ज पुलका कारण सृजित समस्या समाधानको पहलगर्न मोरङ ब्यापार संघको टोलीले भारतीय मन्त्री र अधिकारीहरुलाई भेटघाट गरेका छन ।

भारतको बिहार राज्यका मन्त्रीको निमन्त्रणामा शुक्रबार पटना पुगेको संघको टोलीले विहार राज्यका कला, संस्कृति तथा युवा मामिला मन्त्री आलोक रञ्जनका साथै सम्बद्ध अधिकारीहरुलाई भेंटघाटगरि मीरगञ्ज पुलका कारण सृजित समस्या समाधानगर्न आग्रह गरेका हुन । संघका अध्यक्ष नवीन रिजालको नेतृत्वमा पुगेको टोलीले मीरगंञ्ज पुल क्षतिग्रस्त भएपछि उत्पन्न अवस्थाका बिषयमा जानकारी गराउँदै समस्या समाधानकानिम्ति पहल गरिदिन आग्रह सहित मन्त्री रञ्जनलाई ज्ञापनपत्र बुझाएको मोरङ ब्यापार संघका सिनियर अफिसर बिनय लाभले जानकारी दिनुभयो ।


सो क्रममा संघले भारतको बथनाहा–जोगबनी मार्गमा विगत एकमहिना देखि क्षतिग्रस्त रहेको मीरगञ्ज पुलका कारण विराटनगर नाका मार्फत औद्योगिक प्रयोजनका सवारी साधनहरुको आवागमन अवरुद्ध हुनगई दैनिक करिब ४ सय मालवाहक सवारी साधनहरु भीमनगर–भन्टावारी नाका मार्फत थप १३० किमी गन्तव्य तय गर्नुपर्ने अवस्था सृजना भएको जानकारी गराएका थिए । रुट परिवर्तन गर्नुपपरेका कारण प्रति सवारी साधन लगभग २० हजार लागत खर्च बृद्धि हुन गएकोले त्यसको निराकरणका लागि भारतीय पक्षले तत्कालै कदम चाल्नु पर्ने संघले बताउँदै आएको छ ।

संघले विराटनगर नाकाबाट नेपाल प्रवेश हुने ३० मेट्रिक टन सम्मका सवारी साधनहरु तथा भारत फर्किने खाली सवारी साधनहरुका लागि अररिया–कुर्साकाँटा–जोगबनी मार्ग खुला गरिनुपर्ने, क्षतिग्रस्त मीरगञ्ज पुलको छेउमा अन्तिम चरणमा निर्माणाधिन ४ लेनको नयाँ पक्की पुललाई अस्थायी रुपमा तत्कालै संचालनमा ल्याउनुपर्ने तथा क्षतिग्रस्त मीरगञ्ज पुलको मर्मत कार्य समेत शिघ्रताका साथ सम्पन्न गर्नुपर्ने आदि सुझावहरु प्रस्तुतगर्दै आएको छ ।


भारत गएको टोलीमा संघका अध्यक्ष रिजालका साथै सचिव संजय श्रेष्ठ, कार्यकारिणी सदस्यहरु मनिष मारु, गोपाल अग्रवाल र समाजसेवी पवन सुराना लगायतको सहभागिता थियो ।

सम्बन्धित खबरहरु