विराटनगरमा अत्याधुनिक प्रविधिसहितको ५० शैया क्षमताको इफराह आई हस्पिटल सञ्चालनमा आएको छ।

विराटनगर–१५ रानीमा ३५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको सो अस्पतालको कोशी प्रदेशका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू र विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो ।

अस्पताल सञ्चालनमा आएसँगै स्थानीय स्तरमै न्यून शुल्कमा उच्चस्तरीय आँखा उपचार सेवा पाउने विश्वास गरिएको छ। उद्घाटन समारोहलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री मानबहादुर लिम्बूले नेपालमा अझै पनि दृष्टि समस्या ठूलो सामाजिक स्वास्थ्य चुनौतीका रूपमा रहेको बताउनुभयो। उहाँले यस्ता आधुनिक र सुविधासम्पन्न अस्पतालको स्थापनाले सर्वसाधारणलाई अन्धोपनको जोखिमबाट बचाउन ठूलो राहत पुग्ने धारणा व्यक्त गर्नुभयो।

सर्वसाधारणलाई गुणस्तरीय र पहुँचयुक्त स्वास्थ्य सेवा दिन सरकार, निजी तथा गैर–सरकारी क्षेत्रबिच सहकार्य हुनुपर्नेमा मन्त्री लिम्बूले जोड दिनुभयो। साथै, उहाँले निजी स्वास्थ्य संस्थाहरूलाई नाफाभन्दा माथि उठेर बिरामीमैत्री व्यवहार र नैतिक चिकित्सा अभ्यास अपनाउन आग्रह गर्नुभयो।

यस्तै, अस्पतालका अध्यक्ष मोहम्मद जाकिर हुसैनले उपचार खर्चको अभावमा कसैले पनि दृष्टिविहीन हुनु नपरोस् भन्ने मुख्य उद्देश्यका साथ अस्पताल सञ्चालनमा ल्याइएको बताउनुभयो। मेडिकल डाइरेक्टर डा. जितेन्द्र कुमार झाले अस्पतालले सर्वसाधारणका लागि सर्वसुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो।

इफराह आई हस्पिटल

अस्पतालका प्रशासन प्रमुख रामकुमार पण्डितका अनुसार हाल ३५ करोड लगानीमा सुरु भएको यस अस्पतालले ५० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ भने आगामी दिनमा यसको क्षमता र सेवासुविधा थप विस्तार गर्दै लगिने योजना रहेको छ।

इफराह आई हस्पिटल

सम्बन्धित खबरहरु