बौद्धिक अपाङता भएका ब्यक्तीहरुको शैक्षिक अवस्थाको सोधिखोजीगर्दै विराटनगरमा घरदैलो कार्यक्रम संचालन गरिएको छ ।
बौद्धिक अपाङता अभिभावक संघ मोरङको आयोजनामा घरदैलो कार्यक्रम आयोजना गरिएको हो । सो क्रममा महानगरका विभिन्न वडामा घर भएका बौद्धिक अपाङता भएका ब्यक्तीहरुको घरदैलोमैं पुगेर उनिहरुको शैक्षिक अवस्था र विद्यालय गए नगएको बिषयमा जानकारी लिईएको थियो ।
सबै बालबालिकाको सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने नाराका साथ घरदैलो सम्पन्न गरिएको बौद्धिक अपाङता अभिभावक संघ मोरङका फिल्ड अफिसर उर्मिला सुवेदीले बताउनुभयो । समावेशी शिक्षाकालागि भर्ना अभियान अन्र्तगत उक्त घरदैलो गरिएको समेत उहाँले जानकारी दिनुभयो । घरदैलोमा अपाङताको क्षेत्रमा कामगर्ने अभियन्ताका साथै अधिकारकर्मीहरुको समेत सहभागिता थियो ।
टोलीले लक्षित ब्यक्तीका अभिभावकसंग भर्ना अभियान पछिको अवस्थाका बिषयमा अभिभावकहरुसंग जानकारी संकलन गरेको राष्ट्रिय अपाङ कोषका सदस्य सचिव भिमा खतिवडाले जानकारी दिनुभयो । विराटनगर ३ का अभिभावक बिष्णु प्रसाद बराल आफ्नो छोरा पहिले विद्यालय गएपनि पछिल्लो समय परिवारको जटिलताको कारण विद्यालय पठाउन नसकेको बताउनुभयो । उहाँले समावेशी शिक्षा भनिएपनि त्यो पुर्णरुपमा कार्यान्वय हुन नसकेको दाबी गर्नुभयो ।
सरकारको सम्बन्धित निकायमा बिषय विज्ञहरुको उपस्थिति न्युन रहेकाले समस्या भएको हुनसक्ने उहाँको भनाई थियो ।



