विराटनगर–११ स्थित पारस मल्टिस्पेशियालिटी अस्पतालले भारतको नयाँदिल्लीस्थित प्रतिष्ठित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स) का फिजिसियन डा. विमलेश यादवलाई आबद्ध गराएको छ ।

अस्पतालले आफ्नो विशेषज्ञ स्वास्थ्य सेवालाई थप सुदृढ र गुणस्तरीय बनाउने उद्देश्यका साथ डा. यादवलाई भित्र्याएको हो । अस्पताल परिसरमा आयोजित पत्रकार सम्मेलनमा डा. यादवलाई औपचारिक रूपमा स्वागत गरिएको थियो । कार्यक्रममा अस्पतालका संस्थापक अध्यक्ष डा. सफिउर रहमान तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हेमनारायण मेहताले डा. यादवलाई पुष्पगुच्छा, खादा र मालासहित स्वागत गर्नुभयो ।

त्यस अवसरमा बोल्नुहुँदै अस्पतालका अध्यक्ष डा. रहमानले जनमुखी एवं गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने अभियान अन्तर्गत नै डा. यादवलाई अस्पतालमा आबद्ध गराइएको स्पष्ट पार्नुभयो । उपचार खर्चको अभावमा कोही पनि नागरिक स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुन नपरोस् भन्ने मूल ध्येयका साथ अस्पतालले सेवा प्रवाह गरिरहेको उहाँले बताउनुभयो । सोही क्रममा डा. रहमानले निकट भविष्यमै पारस अस्पताललाई ३ सय शय्या (बेड) को अत्याधुनिक अस्पतालका रूपमा रूपान्तरण गर्ने घोषणा समेत गर्नुभयो ।

गुणस्तरीय स्वास्थ्य सेवा, आधुनिक प्रविधि र दक्ष जनशक्तिका कारण पारस अस्पतालमा नेपालका साथै सीमावर्ती भारतीय क्षेत्रका बिरामीहरूको आकर्षण बढेको उहाँले जानकारी दिनुभयो । अध्यक्ष डा. रहमानका अनुसार हाल अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये करिब ८० प्रतिशत भारतबाट आउने गरेका छन् ।

अस्पतालमा नवनियुक्त फिजिसियन डा. विमलेश यादवले भारतको प्रतिष्ठित स्वास्थ्य संस्था ‘एम्स’ मा आर्जन गरेको ज्ञान, सीप र अनुभवलाई यस क्षेत्रका बिरामीहरूको उपचारमा पूर्ण रूपमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले अस्पतालको मर्म र सेवाभावलाई आत्मसात् गर्दै बिरामीमैत्री सेवा प्रदान गर्ने बताउनुभयो ।

कार्यक्रमकै अवसरमा अस्पतालका डा. मुनेश्वर साहलाई मेडिकल डाइरेक्टरमा पदोन्नति भएकोमा सम्मान गरिएको थियो । अस्पतालका सीईओ हेमनारायण मेहताले स्थापनाको छोटो अवधिमै अस्पतालले उल्लेखनीय संस्थागत प्रगति हासिल गरेको उल्लेख गर्दै हाल विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीसहित १३६ जनाको टोली कार्यक्षेत्रमा खटिएको जानकारी दिनुभयो ।

सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेको पारस अस्पतालले नेपाल पत्रकार महासंघसँग सहकार्य गर्दै पत्रकार तथा सञ्चारकर्मीहरूका लागि नि:शुल्क उपचार सेवा सञ्चालन गर्न आवश्यक गृहकार्य गरिरहेको समेत सोही अवसरमा जानकारी गराएको छ ।

सम्बन्धित खबरहरु