विराटनगर । चिकित्सा क्षेत्रको प्राविधिक शिक्षा अध्यापन गराउँदै आएको विराटनगर-४ स्थित नेशनल इन्स्टीच्यूट अफ टेक्नोलोजी (एनआईटी) कलेजले नवआगन्तुक विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

कलेजले एक निजी पार्टी प्यालेसमा विशेष कार्यक्रमको आयोजना गरी शैक्षिक सत्र २०८३/८४ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण गरेको हो। कार्यक्रममा जनरल मेडिसिन (एचए) तथा मेडिकल ल्याब टेक्निसियन (सीएमएलटी) संकायको पाँचौँ ब्याच र डिप्लोमा इन फार्मेसीको तेस्रो ब्याचमा भर्ना हुन आएका विद्यार्थीहरूलाई स्वागत गरिएको थियो। चालू शैक्षिक सत्रमा जनरल मेडिसिनतर्फ ४० जना, मेडिकल ल्याब टेक्निसियनतर्फ ३० जना र डिप्लोमा इन फार्मेसीतर्फ ४० जना गरी जम्मा ११० जना नयाँ विद्यार्थी भर्ना भएका छन्।

अभिमुखीकरण कार्यक्रममा विद्यार्थीहरूलाई कलेजको नियम पालना गर्ने तथा लगनशील भएर अध्ययन गर्ने विषयमा प्रतिबद्धता गराउँदै कलेजका प्राचार्य जीतेन्द्र झाले सपथ गराउनुभएको थियो। सो क्रममा प्राचार्य झाले वि.सं. २०५२ सालमा स्थापना भएको यस कलेजले निरन्तर उत्कृष्ट उपलब्धि हासिल गर्दै आएको बताउनुभयो। उहाँले अध्ययनका क्रममा विद्यार्थीहरूलाई विषयगत प्रयोगात्मक अभ्यासका लागि कोशी अस्पतालका साथै नोबेल मेडिकल कलेज, रामलाल गोल्छा आँखा अस्पताल लगायतका स्वास्थ्य संस्थाहरूमा पठाउने गरिएको जानकारी समेत दिनुभयो।

कार्यक्रममा कलेजका प्राध्यापक राजन दत्तले कलेजका विषयविज्ञ प्राध्यापकहरूले अध्यापन गराएर मात्र पर्याप्त नहुने उल्लेख गर्दै विद्यार्थी स्वयंले पनि एकाग्र र दत्तचित्त भएर ज्ञान ग्रहण गर्नुपर्नेमा जोड दिनुभयो।

त्यस्तै, सीटीइभीटी (CTEVT) का कोशी प्रदेश प्रमुख शिशिर सुब्बाले प्राविधिक शिक्षा ‘बोली खाने’ भन्दा पनि ‘गरिखाने’ शिक्षा भएको चर्चा गर्दै विद्यार्थीहरूलाई सीटीइभीटी र एनआईटीको उद्देश्य एवं लक्ष्य अनुसार मेहनतका साथ अध्ययन गर्न आग्रह गर्नुभयो। शैलजा आचार्य पोलिटेक्निकका प्रिन्सिपल सन्तबहादुर अधिकारीले प्राविधिक शिक्षाले स्वरोजगार र सेवाको अवसर दिने उल्लेख गर्दै यस क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।

जनस्वास्थ्य प्रयोगशाला कोशी प्रदेशका निर्देशक प्रकाशराज कार्कीले मुलुकका लागि आवश्यक दक्ष स्वास्थ्यकर्मी उत्पादनमा एनआईटीको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो। कार्यक्रममा मानवअधिकारकर्मी तथा बुद्धिजीवी दिनेश श्रेष्ठले पनि कलेज र नवआगन्तुक विद्यार्थीहरूलाई शुभकामना व्यक्त गर्नुभएको थियो।

सोही अवसरमा चिकित्सा क्षेत्रमा चार दशकभन्दा लामो समय योगदान पुर्‍याएबापत वरिष्ठ रेडियोलोजिष्ट डा. यज्ञराज पाठकलाई सम्मानपत्र सहित विशेष सम्मान गरिएको थियो। उहाँलाई एनआईटीका संस्थापक अध्यक्ष भगवान झाले कलेजको तर्फबाट सम्मान गर्नुभएको हो।

सम्बन्धित खबरहरु