गत भदौ महिनामा भएको आन्दोलनका क्रममा तोडफोड, लुटपाट र भीषण आगजनीको चपेटामा परेको विराटनगरस्थित भाटभटेनी सुपर स्टोरको आउटलेट १० महिनापछि पुनः सञ्चालनमा आएको छ ।

आज असार २७ गते बिहान ९ बजेदेखि विधिवत् रूपमा यो आउटलेट सेवाग्राहीका लागि पुनः खुला गरिएको हो । करोडौँ मूल्यका व्यापारिक सामान र भवन नै खरानी हुने गरी भएको उक्त घटनापछि १० महिना लगाएर भवनको मर्मत तथा पुनर्निर्माण गरिएको हो । सञ्चालनमा ल्याउनुअघि पूजापाठ गरी सामानहरू व्यवस्थित गरिएको थियो । असार २७ गते बिहान भाटभटेनी प्राङ्गणमा ब्राह्मण र बटुकहरूद्वारा शङ्खनाद र विशेष पूजापाठ गर्दै सेवा सुचारु गरिएको थियो ।

सञ्चालक मीनबहादुर गुरुङ स्वास्थ्य लाभ गरिरहेकाले कार्यक्रममा उपस्थित हुन सक्नुभएन, तर उहाँका परिवारका सदस्यहरूको उपस्थिति थियो । कार्यक्रममा सञ्चालक गुरुङले पठाउनुभएको सन्देश वाचन गरिएको थियो । भाटभटेनीका निर्देशक कल्याण गुरुङले १० महिना अघिको घटनालाई संस्थाका लागि ‘कालो दिन’ को रूपमा स्मरण गर्दै पुनर्निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । उहाँले थप परिष्कृत सेवाका साथ पुनः सञ्चालनमा आएको बताउनुभयो ।

त्यस्तै, रिजनल म्यानेजर बिनोद भट्टराईले सो घटनामा देशभरका १२ वटा आउटलेटमा क्षति पुगेकोमा यसअघि ६ वटा सुपरस्टोर संचालनमा ल्याईसकिएको जानकारी दिनुभयो । उहाँका अनुसार विराटनगरमा मात्रै १ अर्बभन्दा बढीको क्षति भएको थियो । घटना लगत्तै सञ्चालक मीनबहादुर गुरुङले कर्मचारीको रोजगारी नखोसिने प्रतिबद्धता जनाउनुभएअनुरूप नै यहाँ कार्यरत करिब २ सय जना कर्मचारीलाई बन्द अवधिभर नियमित तलब दिइ काममा फर्काइएको बताउनुभयो ।

मुख्य पुनर्निर्माणको काम सकिएकाले केही काम बाँकी रहे पनि ग्राहकको सुविधालाई ध्यानमा राखेर अहिले सेवा सुचारु गरिएको हो । भाटभटेनी पुनः सञ्चालनमा आएसँगै अब विराटनगरका उपभोक्ताले सबै प्रकारका दैनिक उपभोग्य वस्तुहरू एकै ठाउँबाट सहजै खरिद गर्न पाउने भएका छन् । यसले उपभोक्तालाई सामान खरिद गर्न अन्यत्र धाउनुपर्ने बाध्यताको अन्त्य हुने विश्वास लिइएको छ ।

सम्बन्धित खबरहरु