मोरङको कटहरीमा बालविवाह तथा बहुविवाह विरुद्धको सन्देश फैलाउने उद्देश्यका साथ जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ ।

कटहरी गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा थारु चलचित्र तथा सांस्कृतिक संघ, सुनसरीले कटहरी गाउँपालिका वडा नम्बर ४ स्थित नयाँ बजारमा उक्त नाटक प्रदर्शन गरेको हो । समाजमा अझै पनि जरो गाडेर बसेका कुरीति, कुप्रथा, बहुविवाह तथा बालविवाह जस्ता सामाजिक विसंगतिहरूलाई उजागर गर्दै जनचेतना जगाउन नाटक प्रदर्शन गरिएको हो ।

उक्त सचेतनामूलक नाटकमा संघमा आबद्ध १० जना प्रतिभावान कलाकारहरूले जीवन्त अभिनय गरेका थिए । नाटकमा जानकी चौधरी, ममता चौधरी, सुश्मा चौधरी, धिरेन्द्र गच्छदार, सनम चौधरी, ओमनारायण चौधरी, प्रहलाद चौधरी र अपेक्षा चौधरी लगायतका कलाकारहरूले आ–आफ्नो भूमिका उत्कृष्ट ढंगले निर्वाह गरेका थिए । समाजको यथार्थ चित्रण गरिएको यस नाटकको लेखन तथा निर्देशन रंगकर्मी जनक चौधरीले गर्नुभएको थियो ।

विशेष गरी ग्रामीण क्षेत्रहरूमा अझै पनि भित्री रूपमा बहुविवाह र बालविवाहका घटनाहरू भइरहने गरेकाले समुदायलाई सचेत गराउन सोही विषयवस्तुमा केन्द्रित रहेर नाटक प्रदर्शन गरिएको कटहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीले बताउनुभयो । उहाँले समुदायमा छिटो र प्रभावकारी रूपमा जनचेतना प्रवाह गर्न सडक नाटक सबैभन्दा सशक्त माध्यम भएकाले पालिकाले यस्ता कार्यक्रमलाई प्राथमिकता दिएको समेत उल्लेख गर्नुभयो ।

सडक नाटकका निर्देशक जनक चौधरीले नाटकको मूल कथावस्तुबारे जानकारी दिँदै नाटकमा बहुविवाह गरेको एक परिवारले चेतनाको अभावमा आफ्नी कलिलो उमेरकी छोरीको समेत बालविवाह गरिदिएपछि उत्पन्न हुने पारिवारिक, मानसिक र सामाजिक समस्याहरूलाई देखाइएको बताउनुभयो । उहाँले त्यस्तो गैरकानुनी कार्य गर्दा परिवारले झेल्नुपर्ने कानुनी सजाय र समाजमा पर्ने नकारात्मक असरका विषयलाई नाटकको माध्यमबाट प्रष्ट पारिएको बताउनुभयो ।

नयाँ बजारको व्यस्त हटिया लाग्ने खुला स्थलमा नाटक प्रदर्शन गरिएकाले स्थानीय बजार भर्न आएका सर्वसाधारण, महिला, बालबालिका तथा बुद्धिजीवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । दर्शकहरूले नाटक निकै सान्दर्भिक र शिक्षामूलक रहेको प्रतिक्रिया दिएका थिए ।

सम्बन्धित खबरहरु