मैथिली गीति परम्परा संरक्षण गर्ने उद्देश्यले विराटनगरमा पहिलोपटक आयोजना गरिएको ‘मैथिली लोकगीत प्रतियोगिता’को उपाधि स्वाती कर्ण र अञ्जली कर्णले जितेका छन् ।

विराटनगरको आरोहण गुरुकुलमा जेठ ३१ गते आयोजना गरिएको फाइनल प्रतियोगितामा १२ समूहलाई पछि पार्दै कर्णद्वयले उपाधि जितेका हुन् । प्रतिस्पर्धामा १२६ अंक हासिल गर्दै उनीहरू प्रथम भएका हुन् । प्रथम भएसँगै विजेताले नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । यसैगरी विराटनगरकै कविता मेहता र रिद्धि सिद्धि मेहताको समूह ११९ अंकका साथ दोस्रो तथा संगिता कर्ण र एन्जिला मण्डलको समूह ११२ अंक हासिल गर्दै तेस्रो भएका छन् । प्रतियोगितामा दोस्रो हुनेलाई ११ हजार र तेस्रो हुने समूहलाई ८ हजार रुपैयाँ पुरस्कार राशि प्रदान गरिएको छ ।

मैथिली विकास अभियान र मैथिली अनलाइनले संयुक्तरूपमा आयोजना गरेको प्रतियोगितामा ३५ समूहले सहभागिता जनाएका थिए । तीमध्ये १२ वटा समूहले अडिसन चरण पार गर्दै फाइनलको यात्रा तय गरेका हुन् । विजेताहरूलाई नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य एवं प्राज्ञ धीरेन्द्र प्रेमर्षिले पुरस्कार राशि, प्रमाणपत्र र मिथिला चित्रकलाको फ्रेम हस्तान्तरण गर्नुभयो ।

मैथिल संस्कृतिका प्रत्येक संस्कारहरूमा संस्कार विशेष गीत गाउने चलन छ । सदियौँ अघिदेखि गाइँदै आएका ती गीतहरू एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएका छन् । यद्यपि, पछिल्लो समय आधुनिकताको प्रभावसँगै नयाँ पुस्ता ती गीतहरूबाट विमुख हुँदै गएपछि संरक्षणको प्रयास स्वरूप पहिलोपटक प्रतिस्पर्धात्मक कार्यक्रम आयोजना गरिएको मैथिली विकास अभियान तथा मैथिली अनलाइनका अध्यक्ष नवीन कर्णले बताउनुभयो । प्रतिस्पर्धामा देखिएको उल्लेख्य सहभागिता र समर्थनले आफूहरू उत्साहित भएको उहाँको भनाइ थियो ।

प्रतियोगितामा वरिष्ठ संगीतज्ञ कुशेश्वर राई प्रमुख निर्णायक तथा संगीत प्रशिक्षक विद्या मिश्रा र लोकगायक भगवान झाले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । सोही अवसरमा सह–आयोजक मैथिली अनलाइनले मैथिली म्युजिक भिडियोहरूमा योगदान पु¥याउने गायकहरू भागवत मण्डल र वीरेन्द्र झा, अभिनेत्रीहरू विनीता ऋषि, ईशा यादव, किरण ब्यास र रञ्जिता पराजुलीलाई सम्मान गरेको थियो ।

सोही क्रममा निर्देशकद्वय राजु राजदेव चौधरी र कार्तिक राजवंशी तथा अभिनेताद्वय वीरेन्द्र साह र निर्मल दासलाई समेत सम्मान गरिएको थियो ।

सम्बन्धित खबरहरु