नेपाल सरकारको घोषित ‘राष्ट्रिय सरसफाई सप्ताह’ अन्तर्गत कटहरी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले मुख्य बजार क्षेत्रको सरसफाई गरेका छन् ।
साताब्यापी कार्यक्रमको अन्तिम दिन शुक्रबार बजार क्षेत्रको सरसफाई गर्नुका साथै मुख्य चोक र पसलका दायाँबायाँ फोहोर संकलनका लागि डस्टबिन समेत राखिएको छ । बिहान ९ बजे कार्यालय समय सुरु भएसँगै हातमा कुचो बोकेर निस्किएका जनप्रतिनिधि र कर्मचारीहरूले कटहरीको वडा नम्बर २ र ३ को मध्यभागमा पर्ने कटहरी चोकदेखि दक्षिणतर्फको मुख्य बजार क्षेत्र सफा गरेका थिए । सो क्रममा उनीहरूले सडक बढार्नुका साथै सडक किनारमा थुपारिएका फोहोरको समेत व्यवस्थापन गरे ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीका अनुसार सरकारको घोषित कार्यक्रम अनुसार गत वैशाख २८ गतेदेखि साताब्यापी रूपमा विद्यालय र देवस्थलसहितका सार्वजनिक स्थलहरूको सरसफाई गरिएको थियो । अभियानको समापनको दिन जनप्रतिनिधि र कर्मचारीहरूको सहभागितामा मुख्य बजार क्षेत्र सफा गरिएको चौधरीले जानकारी दिन्ुभयो ।

यस्तै, कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सामूहिक रूपमा सरसफाई गरिएको भए पनि पालिकाले यसअघि देखि नै नियमित सरसफाई गर्दै आएको बताउनुभयो । कटहरीलाई सफा र सुन्दर पालिका बनाउने उद्देश्यले नियमित रूपमा डस्टबिन वितरण र सचेतनामूलक कार्यक्रमहरू आयोजना भइरहेको उहाँको भनाइ थियो ।

सरसफाई कार्यक्रममा पालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृतसहित विभिन्न तहका कर्मचारी, नगर रक्षक र स्थानीय प्रहरीको समेत परिचालन गरिएको थियो । सरसफाई अभियान चलिरहँदा बजार क्षेत्रका केही बासिन्दाले भने फोहोर संकलनको जिम्मा लिएका व्यवसायीले नियमित रूपमा फोहोर नउठाउने गरेको गुनासो गरे । स्थानीयले फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन पालिकाले नियमन र कारबाहीमा कडाई गर्नुपर्ने सुझाव समेत दिएका छन् ।
सरसफाई कार्यक्रमको क्रममा मुख्य बजारक्षेत्रमा ३० थान फोहोर संकलन गर्ने डस्टबिन वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

