जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटवालले अन्याय र थिचोमिचो बिरुद्ध महिलाहरुले बोल्नुपर्ने बताउनुभएको छ ।

विराटनगरस्थित अल–आमना मुस्लिम महिला नेपालले मुस्लिम महिलाहरुलाई लक्षित गरेर विराटनगरमा आयोजना गरेको पाँचदिने क्षमता विकास तालिम समापनको अवसरमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । एसपी कटवालले समाजमा महिला हिंसाका विभिन्न स्वरुप रहेकाले महिलाहरु त्यसबिरुद्ध बोल्नुपर्ने बताउनुभयो ।

उहाँले अन्यायको बिरुद्ध नबोल्दा महिलाहरु कयन ठुल्ठुला हिंसाका घटनामा परेको उदाहरणहरु रहेको बताउनुहुँदै त्यस प्रकारको घटनाबाट बँच्नपनि महिलाहरुले बोल्नुपर्ने बताउनुभयो । एसपी कटवालले अन्याय नसहन र आफुमाथि हिंसा भएको महशुस हुनेबित्तिकै प्रहरीलाई जानकारी गराउन आग्रहगर्दै जुनसुकै बेला प्रहरी आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।

आयोजक संस्थाका सल्लाहकार मुस्लिम अगुवा मोहम्मद अफजल हुसैन ‘गुल्जार’ ले पाँचदिने तालिमको क्रममा महिलाहरुले सिकेका र जानेका कुराहरु आफ्ना छरछिमेकमा रहेका महिलाहरुलाई पनि सिकाउनुपर्ने आग्रह गर्नुभयो ।

विराटनगर महानगरपालिकाको सहयोगमा आयोजना गरिएको तालिममा विराटनगर ६ का ४० जना मुस्लिम महिलाहरुले सहभागिता जनाएको आयोजक अल–आमना मुस्लिम महिला नेपालकी अध्यक्ष मदिना खातुनले जानकारी दिनुभयो । सहभागिलाई प्रशिक्षक प्रभा अधिकारीले नेतृत्व विकास,महिला अधिकार,भाषण र उद्घोषण कला लगायतका बिधामा तालिम प्रशिक्षण दिनुभयो ।

कार्यक्रममा संस्थाका सचिव जरिना खानम,कोषाध्यक्ष जेवा खानम सहित अन्य पदाधिकारीहरुको समेत सहभागिता थियो ।

सम्बन्धित खबरहरु