काठको प्रयोग र माग घट्दै गएकोमा सरोकारवालाहरूले चिन्ता व्यक्तगर्दै यसको उपयोग बढाउन साझा पहल आवश्यक रहेको बताएका छन् ।

नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ, कोशी प्रदेशको सङ्खुवासभास्थित मुढेशनिश्चरेमा आयोजित आठौँ वार्षिक साधारण सभामा बोल्ने वक्ताहरूले यस्तो धारणा राखेका हुन् । पछिल्लो समय घर निर्माण तथा फर्निचरका क्षेत्रमा काठको सट्टा आल्मुनियम, युपिभिसी जस्ता वैकल्पिक सामग्रीको प्रयोग बढ्दै जाँदा स्वदेशी काठको उपयोग खुम्चिँदै गएकोमा व्यवसायीहरूले चासो देखाएका छन् ।

कार्यक्रममा महासंघका कोशी प्रदेश अध्यक्ष निर्मल खतिवडाले वन पैदावारमा आधारित उद्योगले भोगिरहेका समस्याबारे प्रकाश पार्नुभएको थियो । उहाँले काठ संकलन तथा विक्रि गर्ने सरकारी निकायबिच समन्वय नरहेकाले ब्यवसायिहरुले थप समस्या झेल्नुपरेको बताउनुभयो ।

महासंघका महासचिव माधवमणि होमागाइँले उच्च राजश्व दर, जटिल नीति–नियम तथा तीन तहका सरकारबीच समन्वय अभावका कारण समस्या झनै जटिल बन्दै गएको धारणा ब्यक्त गर्नुभयो । सो अवसरमा बोल्दै कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले काठको खपत बढाउन मन्त्रालयले ठोस योजना ल्याउने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले मन्त्रालयको बजेटबाट निर्माणहुने मठ–मन्दिर, सामुदायिक भवन र सार्वजनिक संरचनाहरूमा अनिवार्य रूपमा काठको प्रयोग गरिने नीति ल्याइने बताउनुभयो । मन्त्री पराजुलीले काठको व्यावसायिक उपयोगलाई सहज बनाउन प्रदेश वन ऐनलाई आगामी अधिवेशनमा संशोधन गरिने समेत जानकारी दिनुभयो ।

त्यस्तै, मन्त्रालयका सचिव डा.ईन्द्रप्रसाद सापकोटाले उपभोक्ताको बदलिँदो रोजाइलाई सम्बोधन गर्दै काठको उपयोगिता र यसका फाइदाबारे प्रचारप्रसार गर्नु मन्त्रालय र व्यवसायी दुवैको साझा जिम्मेवारी रहेको उल्लेख गर्नुभयो । काठको प्रयोग बढाउनु वन व्यवस्थापन र आर्थिक विकासका लागि समेत महत्त्वपूर्ण रहेको उहाँको भनाइ थियो ।

विक्रमसम्बत २०४५ सालमा स्थापना भएको महासंघको हाल ५० जिल्ला संघ, ७ प्रदेश महासंघ र उपत्यका विशेषसहित करिब ३ हजार बढी उद्योगी व्यवसायी आबद्ध रहेको जनाईएको छ ।

सम्बन्धित खबरहरु