कटहरी ३० चैत्र । नयाँ वर्षको पूर्वसन्ध्यामा तराई–मधेशमा मनाइने सिरुवा पर्व सुरु भएको छ । तीन दिनसम्म मनाइने सिरुवाको पहिलो दिन सोमबार ‘काद सिरुवा’ मनाइएको हो । मोरङका कोच राजवंशी समुदायले एक–अर्कालाई हिलो छ्यापाछ्याप गर्दै काद सिरुवा मनाएका हुन् ।
मोरङका कोच राजवंशी समुदायले नयाँ वर्ष वैशाख १ को पूर्वसन्ध्यादेखि दुई दिनसम्म सिरुवा पर्व मनाउँछन् । काद सिरुवा अर्थात् हिलो खेलेर उनीहरूको पर्व सुरु हुन्छ । यसै अवसरमा मोरङको कटहरी गाउँपालिकास्थित राजवंशी युवा समाजको आयोजना तथा राजवंशी समाज विकास समितिको सहयोगमा काद सिरुवा कार्यक्रम गरिएको हो ।
सो क्रममा गाउँपालिकाको ३ नम्बर वडास्थित ग्रामथानमा जम्मा भएका युवायुवतीसहित सबै उमेर समूहका व्यक्तिहरूले एक–अर्कालाई हिलो छ्यापाछ्याप गरी खुसी साटासाट गरे । बिदा हुन लागेको वर्षमा भए–गरेका गल्तीहरूलाई हिलोसँगै पखालेर नयाँ वर्षको स्वागत गर्न काद सिरुवा मनाउने गरिएको राजबंशी युवा समाज कटहरीका सदस्य कपलेश्वर राजबंशीले बताए ।
तराईका अन्य जिल्लाहरूमा वैशाख १ देखि ३ गतेसम्म सिरुवा मनाइने गरिए तापनि मोरङका कोच राजवंशी समुदायले भने चैत महिनाको अन्तिम दिनबाटै सिरुवा मनाउन सुरु गर्छन् । सिरुवा आउनुभन्दा १५ दिन अगावैदेखि यो पर्वको तयारी सुरु हुने गर्दछ । नयाँ वर्ष हरेक हिसाबले शुभ रहोस् भन्ने कामनाका साथ पहिलो दिन काद सिरुवा, दोस्रो दिन पानी सिरुवा र तेस्रो दिन रङ सिरुवा मनाउने परम्परा छ । सिरुवा पर्व सुरु गर्नुअघि ग्राम देउतालाई प्रसाद, नैवेद्य र दूध अर्पण गरी सुख–शान्तिको कामना गरिन्छ । त्यसलगत्तै सिरुवाको रमाइलो सुरु हुन्छ ।

हिलो सिरुवा खेल्ने क्रममा एक–अर्कालाई हिलोकै टीका लगाई आफूभन्दा ठुलाबाट आशीर्वाद थाप्ने गरिन्छ भने चेलीबेटीलाई माइतमा आमन्त्रण गर्ने चलन समेत छ । सिरुवालाई नयाँ वर्षको सुरुआत गर्ने पर्वका रूपमा लिने गरिएको कटहरी ३ की निर्मला राजबंशीले बताईन ।
मिथिलाञ्चलसहित तराईका जिल्लाहरूमा तीन दिनसम्म पानी, माटो र रङ खेलेर धुमधामका साथ सिरुवा पर्व मनाइन्छ । यो पर्व राजवंशी, ताजपुरिया, गनगाई, थारू, माझी, मेचे, उराव, किसान र धिमाल लगायतका आदिवासी समुदायले सांस्कृतिक उत्सवका रूपमा मनाउँदै आएका छन् । सिरुवाको अवसरमा वैशाख १ गतेदेखि सुनसरी, मोरङ र झापाका ग्रामथानहरुमा एक महिनासम्म परम्परागत मेलाहरू समेत लाग्ने गर्दछन् ।
फोटो क्याप्सनःनयाँ वर्षको पूर्वसन्ध्यामा मोरङको कटहरी गाउँपालिका काद् (हिलो) सिरुवा मनाईएको छ । यो पर्वमा एकअर्कालाई माटोको टिका लगाई आशिर्वाद लिनेदिने तथा हिलो छ्यापा–छ्याप गर्ने चलन छ ।

