चैत्र २७ । ग्रामथान गाउँपालिकामा विभिन्न तीन प्रकारका स्वास्थ्य सेवा एउटै छाना मुनि संचालनमा ल्याईएको छ ।
सो गाउँपालिकाको वडानम्बर २ मा आँखा उपचार सेवा,आधारभूत स्वास्थ्य सेवा,आयुर्वेदिक तथा योग समेतगरि विभिन्न प्रकारका सेवाहरु एउटै छाना मुनि संचालनमा ल्याईएको हो । यसअघि प्रयोगविहिन अवस्थामा रहेको रेडक्रस सोसाईटीको भवनमा आधारभूत स्वास्थ्य सेवा केन्द्र,नागरिक आरोग्य सेवा केन्द्र र गोल्छा आँखा अस्पताल सेवा केन्द्र संचालनमा ल्याईएको हो । ग्रामथान गाउँपालिकाको स्वास्थ्य शाखाले सो ठाउँमा आयोजना गरेको कार्यक्रमकाबिच ती सेवाहरुको उद्घाटन गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष नमोनारायण माझी र रामलाल गोल्छा आँखा अस्पतालका उपाध्यक्ष श्याम पौडेलले सेवाहरुको संयुक्तरुपमा उद्घाटन गर्नुभयो । एउटै छाना मुनि विभिन्न प्रकारका स्वास्थ्य सेवा पाईने भएपछि स्थानियलाई सहज हुने अपेक्षा गरिएको छ । सो अवसरमा बोल्नुहुँदै ग्रामथानका अध्यक्ष माझीले आगामी दिनमा एकीकृत स्वास्थ्य केन्द्रलाई सुबिधा सम्पन्न बनानुका साथै बिस्तारगर्दै लगिने बताउनुभयो ।

एकिकृत स्वास्थय सेवा केन्द्रबाट साबिकको झोराहाट गाबिसको वडानम्बर १ देखि ६ सम्म र लखन्तरी गाबिसको वडानम्बर १ देखि ३ सम्मका सर्वसाधारणलाई स्वास्थय सेवा लिन सहज हुने ग्रामथान गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राजकुमार झा ले बताउनुभयो । उहाँले ग्रामथानको बाक्लो बस्तीहरु सोहि क्षेत्रमा रहेकाले ति क्षेत्रका झण्डै ८ हजार सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुने बताउनुभयो ।

एकीकृत स्वास्थ्य केन्द्रमा ८ जना स्वास्थ्यकर्मीको टोली खटिने जनाईएको छ । सो पालिकाको वडानम्बर २ हुलाकी राजमार्ग छेउमै २०४४ सालमा निर्माण गरिएको रेडक्रसले आफ्नो उपशाखा भवन सहित ५ कट्ठा जग्गा समेत गाउँपालिकालाई हस्तान्तरण गरेपछि सोहि भवनमा सेवाहरु संचालन ल्याईएको हो । रामलाल गोल्छा आँखा अस्पतालका उपाध्यक्ष पौडेलले पालिकाले भौतिक संरचनाहरुको निर्माण गरिदिए गोल्छा आँखा अस्पतालले सेवालाई थप बिस्तार गर्ने बताउनुभयो ।

सो अवसरमा रेडक्रस उपशाखा ग्रामथानका अध्यक्ष अशोक लुईटेल र ग्रामथानका प्रमुख प्रशासकीय अधिकृत मुरारी प्रसाद निरौला लगायतले शुभकामना ब्यक्त गर्नुभयो । कार्यक्रममा सन्थाल समुदायले पारम्परिक नृत्य समेत प्रस्तुत गरेका थिए ।
