विराटनगर र कटहरी जोड्ने निर्माणाधीन पुलका कारण लामो समयदेखि अवरुद्ध र अस्तव्यस्त बनेको सडक खण्डलाई सम्याइएको छ । निर्माणाधिन पुलले गर्दा सडकको सतह बेमेल भएको कारण सो ठाँउमा दिनहुँ दुुर्घटना हुँदै आएको थियो ।

पुल र सडकको सतह नमिलेर दुर्घटनाको जोखिम बढेपछि स्थानीय जनप्रतिनिधिको पहलमा बाटो मर्मत गरी आवागमनलाई सहज बनाइएको हो । विराटनगर–१ स्थित परोपकार घाट नजिकै सिंघिया खोलामा निर्माणाधीन पुलका कारण सिर्जना भएको आवागमनको समस्यालाई सामान्यीकरण गर्ने प्रयास गरिएको छ । पुल र सडकको सतह नमिल्दा सो क्षेत्र भएर यात्रा गर्ने सर्वसाधारणले लामो समयदेखि सास्ती खेप्दै आएका थिए ।

पुल निर्माणका क्रममा दुवैतर्फको बाटो पुलको सतहभन्दा झण्डै ३ फिट होचो भएपछि सवारीसाधन मात्र नभई पैदलयात्रीलाई समेत उक्लिन र ओर्लिन निकै सास्ती हुने गरेको थियो । असमान बाटोका कारण उक्त स्थानमा दैनिकजसो मोटरसाइकल र साइकल चालकहरू दुर्घटनामा पर्ने गरेको स्थानीयको गुनासो छ । निर्माण व्यवसायीले सर्वसाधारणको सहजतालाई बेवास्ता गर्दा समस्या बल्झिएको उनीहरूको आरोप छ ।

अन्ततः कटहरी–१ का वडाध्यक्ष हरिनारायण राजवंशीको पहलमा बुधबार उक्त बाटोलाई सम्याउने काम भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत खटिएका स्थानीय कामदारहरूको सहभागितामा बाटो मर्मत गरिएको हो । निर्माण ब्यवसायिले बाटोको दुरावस्थाको बिषयमा ध्यान नदिएका कारण वडाको पहलमा विराटनगर र कटहरी दुवैतर्फको खाडल पुर्ने काम गरिएको उहाँले बताउनुभयो ।

निर्माण व्यवसायीले नै निर्माणस्थलमा थुपारेका ढुंगा, माटो र ग्राभेलको प्रयोग गरी बाटोको सतह मिलाइएको वडाध्यक्ष राजवंशीले जानकारी दिनुभयो । बाटो सम्याउने कार्यमा परोपकारघाट वरिपरि बसोबास गर्ने सर्वसाधारण समेत स्वतस्फुर्त खटिएका थिए । यो सडक भएर कटहरी तथा जहदा गाउँपालिका लगायत आसपासका गाउँपालिकाबाट दैनिक सयौँ मजदुर र सर्वसाधारण विराटनगर आउजाउ गर्ने गर्दछन् । बाटो सम्याइएपछि अबका दिनमा यात्रा केही सहज हुने जहदा गाउँपालिकाका सुरेश यादवले बताउनुभयो ।

कोशी प्रदेश सरकारको लगानीमा २०७७ सालयता सो ठाउँमा ३५ मिटर लम्बाईको डबल लेनको पुल निर्माणको कार्य हुँदैछ । पुल निर्माण शुरु भएयता देखि नै सर्वसाधारणले आउजाउमा समस्या झेल्दै आएका थिए ।

सम्बन्धित खबरहरु