विराटनगर महानगरपालिकामा सहभागीहरूलाई शतप्रतिशत रोजगारीको ग्यारेन्टीसहित गार्मेन्ट तालिम सुरु भएको छ।

ओरेक नेपाल, युएनएफपीए र विराटनगर महानगरपालिकाको त्रिपक्षीय सहकार्यमा विराटनगर–६ स्थित फहद अप्रिल्स गार्मेन्टमा यो तालिम सञ्चालन गरिएको हो। ५५ दिनसम्म चल्ने यस तालिमको विराटनगर महानगरपालिकाकी उपप्रमुख शिला दीक्षित कार्कीले विधिवत् उद्घाटन गर्नुभयो। तालिममा विराटनगरका ७५ जना गृहिणी महिलाहरू सहभागी छन्, जसलाई सिलाई–कटाईका साथै गार्मेन्ट उद्योगमा प्रयोग हुने आधुनिक मेसिनहरू सञ्चालन गर्ने विशेष प्रशिक्षण दिइनेछ। पुनम शर्मासहितका ५ जना प्रशिक्षकहरूले हरेक दिन बिहान ९ देखि बेलुका ६ बजेसम्म प्रशिक्षण दिने यस कार्यक्रममा सहभागी हुने सबैलाई तालिम पश्चात् फहद अप्रिल्सले रोजगारी दिने सम्झौता समेत भएको छ।

तालिम उद्घाटन गर्दै उपप्रमुख कार्कीले महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउन महानगरले विभिन्न सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको र रोजगारीको ग्यारेन्टीसहितको यो तालिमले महिलाहरूको आत्मनिर्भरतामा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। फहद अप्रिल्सका संस्थापक मोहम्मद नसरुलले हाल आफ्नो उद्योगमा ६० जना महिला कार्यरत रहेको जानकारी दिँदै, आगामी दिनमा थप महिलाहरूलाई रोजगारी दिएर यस उद्योगलाई पूर्ण रूपमा महिलाहरू मात्र प्राविधिक र प्रशासक रहेको नमूना गार्मेन्टका रूपमा अन्तर्राष्ट्रिय स्तरमै चिनाउने लक्ष्य रहेको बताउनुभयो।

कार्यक्रममा युएनएफपीएका कोशी प्रदेश संयोजक सरोज भुसालले महिला सशक्तीकरणका लागि आर्थिक सबलीकरण अनिवार्य रहेको उल्लेख गर्नुभयो। त्यस्तै, ओरेकका परियोजना संयोजक विशाल बस्नेतले यो कार्यक्रम ‘पाइलट प्रोजेक्ट’का रूपमा विराटनगरसहित उदयपुर र त्रियुगामा पनि सुरु गर्न लागिएको जानकारी दिनुभयो। अन्य स्थानमा ब्युटिसियन र बेकरी तालिम सञ्चालन गरिने र यस परियोजनामार्फत तीनवटै स्थानका कुल १८० जना महिलाहरू दक्ष कामदारका रूपमा स्वरोजगार बन्ने आयोजक संस्थाको दाबी छ।

सम्बन्धित खबरहरु