मोरङको कटहरी गाउँपालिकामा युवाहरूलाई लक्षित गरी सञ्चालन गरिएको एक महिने निःशुल्क कुक तालिम समापन भएको छ ।

कटहरी गाउँपालिकाको आर्थिक सहयोग र एक्सपर्ट टेक्निकल कलेज नेपाल प्रा.लि.को प्राविधिक सहयोगमा माघ २१ गतेदेखि सुरु भएको सो तालिम आईतबार सम्पन्न भएको हो । तालिम समापनको अवसरमा कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी,कटहरी १ का वडाध्यक्ष हरिनारायण राजबंशी तथा वडासदस्य सन्तोष राजबंशीले सहभागिलाई सहभागिताको प्रमाणपत्र वितरण गर्नुभयो ।

सो अवसरमा बोल्दै कटहरी गाउँपालिकाका अध्यक्ष चौधरीले युवाहरूलाई दक्ष र स्वरोजगार बनाउन पालिकाले निरन्तर विभिन्न प्रकारका तालिमहरू प्रदान गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको आधारभूत तालिमको उपलब्धि र सहभागीको उत्साहलाई हेरेर आगामी दिनमा पालिकाले एडभान्स कुक तालिमको समेत व्यवस्था गर्नेछ ।” अध्यक्ष चौधरीले तालिममा सिकेको सिपलाई व्यावसायिक रूपमा प्रयोग गर्न समेत सहभागीहरूलाई आग्रह गर्नुभयो ।

वडाध्यक्ष राजवंशीले युवाहरूलाई आफूलाई रुचि भएको र आवश्यक परेको सिप सिक्न आह्वान गर्नुभयो । युवाहरूले चाहेको खण्डमा वडा तथा पालिकाले सोही अनुसारका थप तालिमहरू मागका आधारमा सञ्चालन गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।
तालिममा सहभागी कटहरी–५ की स्वेता सरदारले निःशुल्क रूपमा गुणस्तरीय तालिम लिन पाएकोमा खुसी व्यक्त गर्नुभयो । “पहिले के गर्ने भन्ने द्विविधा थियो, तर यो तालिमपछि अब रोजगार तथा स्वरोजगारको क्षेत्रमा केही गर्न सक्छु भन्ने आत्मविश्वास जागेको छ,” सरदारले आफ्नो अनुभव सुनाउनुभयो ।

प्राविधिक सहयोग उपलब्ध गराएको एक्सपर्ट टेक्निकल कलेजका कृष्ण खनालले तालिम लिने युवा युवतीहरूलाई केवल सिप मात्र नभई उनीहरूलाई बजारमा रोजगार र स्वरोजगारको क्षेत्रमा प्रवेश गराउन समेत आफ्नो संस्थाले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

तालिम अवधिभर प्रशिक्षक परिवेश राजधामीले सहभागीहरूलाई इन्डियन, चाइनिज र कन्टिनेन्टल गरी ५० भन्दा बढी परिकार बनाउन सिकाउनुभएको थियो । एक महिनासम्म चलेको १६० घण्टाको यस तालिममा कटहरीका विभिन्न वडाका आदिवासी तथा दलित समुदायका युवाहरूको सक्रिय सहभागिता रहेको थियो ।

तालिमको अवधि यसअघि नै सकिएको भएपनि फागुन २१ मा सम्पन्न भएको निर्वाचनका कारण ढिलागरि प्रमाणपत्र वितरण गरिएको आयोजक संस्थाले जनाएको छ ।

सम्बन्धित खबरहरु