विराटनगर । विराटनगरस्थित जुट मिलको खेल मैदानमा शनिबार सम्पन्न चौथो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेलमा सुनसरीको ‘हाम्रो इटहरी भेट्रान्स क्लब’ लाई १–० गोल अन्तरले पराजित गर्दै आयोजक टोली मिल्स भेट्रान्स क्लब (निलो) च्याम्पियन बनेको छ।
उपाधिसँगै आयोजक टोलीले नगद ८१ हजार १११ रुपैयाँ र ट्रफी हात पारेको छ भने उपविजेता बनेको इटहरी भेट्रान्सले नगद ४१ हजार १११ रुपैयाँ र ट्रफीमा चित्त बुझाएको छ।
आयोजकको जितमा डेनिम राईले गरेको गोल नै निर्णायक बन्यो। कप्तान रानु राना मगरले डि–बक्स बाहिरबाट उपलब्ध गराएको उत्कृष्ट क्रस पासलाई सदुपयोग गर्दै राईले बललाई जाली चुमाएका थिए। खेलको अन्त्यसम्म इटहरीले गोल फर्काउन नसकेपछि सोही गोल टोलीको जितका लागि पर्याप्त बन्यो।
प्रतियोगिताको व्यक्तिगत विधातर्फ आयोजककै दिलीप बास्कोटा ‘प्लेयर अफ द टुर्नामेन्ट’ र सुरज श्रेष्ठ ३ गोलसहित ‘सर्वाधिक गोलकर्ता’ घोषित भए। त्यसैगरी, कोमल खवासले ‘म्यान अफ द सिरिज’ को उपाधि प्राप्त गरे।
कोशी प्रदेशका वन तथा पर्यटनमन्त्री भीम पराजुलीको प्रमुख आतिथ्यमा सम्पन्न पुरस्कार वितरण समारोहमा विराटनगर–१६ का वडाअध्यक्ष उद्धवकुमार भुजेल र क्लबका अध्यक्ष बुद्धिराज दराई लगायतले विजेता तथा उपविजेता खेलाडीहरूलाई पुरस्कार वितरण गर्नुभयो। गत फागुन ६ गतेदेखि सुरु भएको यस प्रतियोगितामा जम्मा १० वटा भेट्रान्स टोलीको सहभागिता रहेको थियो।
