विराटनगर १४ की स्थायी बासिन्दा कल्पना देवी यादव एक यस्तो व्यक्तित्व हुन् जसले राजनीतिलाई शक्ति आर्जनको माध्यम होइन, बरु निस्वार्थ सेवाको ‘मुलमन्त्र’ मान्दै आएकी छिन्।

लामो समयदेखि स्वास्थ्य सेवामा समर्पित यादव हाल विराटनगरको जेनरल आँखा अस्पतालमा कार्यरत छिन्। स्वास्थ्यकर्मीका रूपमा नागरिकको आँखाको ज्योति जोगाउने पवित्र कार्यमा तल्लीन रहेकै कारण उनले समाजको दुःख र पीडालाई नजिकबाट महसुस गरेकी छिन्। उनको पहिचान केवल एउटा कर्मचारीमा मात्र सीमित छैन; उनी आफ्नो टोल-बस्तीमा हुने महिला हिंसा, सामाजिक विभेद, शोषण र प्रशासनिक बेथिति विरुद्ध खरो रूपमा उत्रने एक निर्भिक र न्यायप्रेमी महिलाका रूपमा परिचित छिन्।

कुनै ठोस राजनीतिक पदमा नभए पनि आफ्नो सहयोगी स्वभाव र अन्यायको प्रतिवाद गर्ने निडर शैलीका कारण उनी स्थानीय जनतामाझ निकै लोकप्रिय छिन्। पछिल्लो समय मुलुकमा देखिएको ‘जेनजी’ (Gen-Z) आन्दोलन र नवयुवाहरूले उठाएको सुशासन तथा भ्रष्टाचारमुक्त राजनीतिको लहरले उनलाई थप ऊर्जा प्रदान गरेको छ।

पुराना राजनीतिक दलहरूबाट देशको आमूल परिवर्तन र निर्माण सम्भव छैन भन्ने दृढ निष्कर्षका साथ उनी हालै स्थापना भएको राष्ट्रिय निर्माण दल नेपालमा आबद्ध भएकी हुन्। युवा पुस्ताको सपना र समृद्ध नेपाल निर्माणको चाहनालाई पूरा गर्न उनले यसपटक प्रत्यक्ष राजनीतिमा आउने साहसिक निर्णय लिएकी छिन्।

आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएकी कल्पना देवी यादवको चुनाव चिन्ह “पानीको बोतल” रहेको छ। उनले आफू विजयी भएमा प्रतिनिधि सभामा केवल नीति निर्माण मात्र गर्ने नभई, समाजका शोषित, पीडित र आवाजविहीनहरूको आवाजलाई बुलन्द गर्ने अठोट लिएकी छिन्। “राजनीति पेशा होइन, सेवा हो” भन्ने आदर्शलाई आत्मसात् गर्दै चुनावी मैदानमा होमिएकी उनी, युवाहरूको सुशासनको सपना साकार पार्न र समाजमा व्याप्त भ्रष्टाचारको अन्त्य गर्न आफूलाई एक बलियो खम्बाका रूपमा प्रस्तुत गर्छिन्।

एउटा स्वच्छ र न्यायपूर्ण समाजको परिकल्पना बोकेकी कल्पना देवी यादव यतिबेला मोरङ ४ का मतदाताहरूका लागि परिवर्तनको एक भरोसायोग्य विकल्प बनेकी छिन्।

सम्बन्धित खबरहरु