माघ २३ । विराटनगर–१६ बर्माटोलमा निर्माण गरिएको मन्दिरमा भगवान श्रीराधाकृष्णको मुर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।

मन्दिर परिसरमा आयोजित बिशेष कार्यक्रमकाबिच भगवानको युगलजोडी मुर्तिको प्राण प्रतिष्ठा गरिएको हो । श्री लक्ष्मीनारायण मन्दिरका पीठाधिश स्वामी अच्यूत प्रपन्नाचार्यले बैदिक तथा शास्त्रिय परम्परा अनुसार उक्त मन्दिरमा मुर्तिको प्राण प्रतिष्ठा गर्नुभयो । मन्दिरमा भगवान राधाकृष्णसंगै मन्दिर परिसरमैं अष्ट चिरञ्जीवि र पाञ्चायन देवताको मुर्ति समेत स्थापनागरि प्राण प्रतिष्ठा गरिएको छ ।

प्राण प्रतिष्ठा अघि भगवान राधाकृष्णको मुर्तिलाई वडा परिक्रमा सहितका पाँच दिनसम्म विविध धार्मिक कार्यक्रम आयोजना गरिएको थियो । स्थानीय बिराट भजन समूहको अगुवाईमा प्रहरी तालिम केन्द्रको दक्षिणपुर्व स्थित बर्माटोलमा भगवान श्रीराधाकृष्णको मन्दिर तथा सामुदायिक भवन निर्माण गरिएको हो ।

भजन समुहको १२ बर्षसम्मको निरन्तर प्रयास र स्थानीय दाता परिवार तथा वडा कार्यालयको बिशेष सहयोगबाट मन्दिर निर्माण गरिएको समूहकी अध्यक्ष उमा जोशीले बताउनुभयो । एकतले भवनको माथिल्लो तल्लामा मन्दिर स्थापना गरिएको छ भने भवनको भुँईतल्लालाई सामुदायिक भवनकोरुपमा प्रयोग गरिने उहाँले बताउनुभयो ।

मन्दिर निर्माणका निम्ति स्थानिय समाजसेवी चुन्नु गुप्ताले १६ धुर जग्गा दान दिनुका साथै मुर्ति खरीद र अक्षयकोष स्थापनामा समेत सहयोग गरेको जनाईएको छ । ६० लाख बढी खर्च भएको मन्दिर निर्माणका निम्ति वडा कार्यालयले भने २० लाख उपलब्ध गराएको समूहले जनाएको छ ।

अन्य रकम पुराणको आयोजना तथा स्थानिय धर्मानुरागि दाताबाट संकलन गरिएको जनाईएको छ । उक्त क्षेत्रमा श्रीराधाकृष्णको मन्दिर नभएकाले मन्दिर निर्माण भएपछि स्थानीयलाई पुजापाठ गर्न सहज हुने समाजसेवी अर्जुन क्षेत्रीले जानकारी दिनुभयो । सो अवसरमा जग्गा दाता गुप्ता सहित अन्य सहयोगि दाताहरुलाई सम्मान गरिएको थियो ।

पीठाधिश स्वामी प्रपन्नाचार्य र समुहकी अध्यक्ष जोशीले उहाँहरुलाई सम्मान गर्नुभयो ।

सम्बन्धित खबरहरु