विराटनगर १९ माघ । विराटनगरमा ज्येष्ठ नागरीकहरुलाई लक्षित गरेर ‘बिर्सने रोग’ अल्जाईमर्स डिमेन्सीया सम्बन्धि सचेतना कार्यक्रम आयोजना गरिएको छ ।
नेपाल ग्रामीण विकास समाज केन्द्रको आयोजना तथा विराटनगर महानगरपालिकाको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो । समाजको कलेजरोडस्थित आफ्नै भवन परिसरमा आयोजित कार्यक्रमको कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुले उद्घाटन गर्नुभयो । कार्यक्रममा विराटनगर महानगरपालिकाका विभिन्न वडामा बसोबासगर्ने १ सय ५ जना ज्येष्ठ नागरीकहरुको सहभागिता थियो ।
सहभागिलाई कोशी अस्पताल विराटनगरका चिकित्सक डाक्टर सबिता खड्का र नेपाल ग्रामीण विकास समाज केन्द्रमा कार्यरत डाक्टर सृष्टि खड्काले ज्येष्ठ नागरीहरुलाई बिर्सने रोगबाट उपन्नहुने मानसिक तथा पारिवारिक समस्याका बिषयमा जानकारी गराउनुका साथै यसका लक्षण र उपचार बिधिको बारेमा बिस्तृत जानकारी गराउनुभयो ।

अल्जाईमर्स डिमेन्सीयाबाट बहुसंख्य ज्येष्ठ नागरीकहरु पीडित भईरहेकाले यो रोगको न्युनिकरण र रोग लागिसकेपछि उपचार पद्धति लगायतका बिषयमा ज्येष्ठ नागरीकहरुलाई जानकारी गराउन कार्यक्रम आयोजना गरिएको नेपाल ग्रामीण विकास समाज केन्द्रका अध्यक्ष मणिकुमार अज्र्यालले बताउनुभयो ।

सो अवसरमा बोल्नुहुँदै स्वास्थ्य मन्त्री लिम्बुले ज्येष्ठ नागरीकहरुमा बिर्सनेरोग एउटा प्रमुख समस्याका रुपमा देखिएको बताउनुहुँदै यो रोग न्यूनिकरण गर्न उपचार सहितका आवश्यक उपाय अवलम्बन गर्नुपर्ने बताउनुभयो । उहाँले आउँदो बजेटमा स्वास्थ्य मन्त्रालयले ज्येष्ठ नागरीहरुलाई उपयोगि हुनसक्ने महत्वपुर्ण कार्यक्रमहरु लिएर आउने आश्वासन समेत दिनुभयो ।
कोशी अस्पतालकी चिकित्सक डा। सबिता खड्काले बिर्सने रोग विभिन्न प्रकारका रहेपनि अल्जाईमर्स डिमेन्सीया समाजमा सबभन्दा बढी देखिने रोगकारुपमा रहेको बताउनुभयो । उहाँले समयमैं उपचार गरे यो रोगको जटिलतलाई न्यूनिकरण गर्न सकिने बताउनुभयो ।
कार्यक्रमका सहभागि ज्येष्ठ नागरीकहरुले अल्जाईमर्स डिमेन्सीयाका बिषयमा चिकित्सकद्वयसंग अन्तरक्रियात्मक सम्बाद समेत गरेका थिए ।

