विराटनगर, १३ माघ । लायन्स क्लब अफ विराटनगर सोसियलले मानव सेवा आश्रमलाई एक थान रिकन्डिसन मारुती भ्यान प्रदान गरेको छ।

क्लबले विराटनगर–५ स्थित आश्रम परिसरमा एक कार्यक्रमको आयोजना गर्दै आश्रमलाई मारुती भ्यान हस्तान्तरण गरेको हो। कार्यक्रमका बीच क्लबका अध्यक्ष लिलाकुमार ढुङ्गेलले आश्रमका अभियन्ता नवराज केसी र पार्वती तिवारीलाई उक्त भ्यानको साँचो हस्तान्तरण गर्नुभयो।

क्लबका सल्लाहकार समेत रहनुभएका समाजसेवी देवकी नन्दन अग्रवालले उपलब्ध गराउनुभएको भ्यान आश्रमलाई हस्तान्तरण गरिएको हो। समाजसेवी अग्रवालले आफूले चढ्दै आएको को १ च २३३४ नम्बरको मारुती भ्यान आश्रमलाई दान गर्नुभएको हो।

सो अवसरमा बोल्दै लायन्स क्लब अफ विराटनगर सोसियलका प्रतिनिधिले मानव सेवा आश्रमले सडक मानवको उद्धार, संरक्षण तथा पारिवारिक मिलनको क्षेत्रमा गर्दै आएको काम सराहनीय रहेको बताउनुभयो।

समाजसेवी अग्रवालले मानव सेवा आश्रम विराटनगरमा स्थापना भएदेखि नै मानवताको सेवा देखेर आफू संस्थासँग भावनात्मक रूपमा जोडिएको र निरन्तर सम्पर्कमा रहेको बताउनुभयो।

आश्रमका अभियन्ता नवराज केसीले आश्रमलाई प्रदान गरिएको सवारी साधनबाट सडक मानवहरूको उद्धार कार्यमा थप सहजता हुने विश्वास व्यक्त गर्नुभयो। हाल विराटनगर–५, डीपीएस स्कुल पछाडि रहेको निर्माणाधीन आश्रममा ६३ जना महिला र पोखरिया वन कार्यालय नजिकै रहेको आश्रममा ६८ जना पुरुषलाई संरक्षण गरिएको केसीले जानकारी दिनुभयो।

सो अवसरमा आश्रमका आश्रितहरूलाई खीर र पुरी समेत जलपान गराइएको थियो। लायन्सका आइपिडिजी (IPDG) विकास अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।

देशभरका २१ जिल्लाका २९ स्थानमा मानव सेवा आश्रमका शाखा कार्यालयहरू छन्। मुख्य कार्यालय हेटौँडामा रहेको यस आश्रमको संरक्षणमा हाल करिब २ हजार जना रहेका छन्। आश्रमले उद्धार र पारिवारिक पुनर्मिलनका कार्यक्रमहरू प्राय: दैनिक रूपमा सञ्चालन गर्दै आएको छ।

सम्बन्धित खबरहरु