विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटस्थित सरस्वती माध्यमिक विद्यालयको स्थापना र विकासमा ऐतिहासिक भूमिका निर्वाह गर्नुभएका पूर्व प्रधानाध्यापक एवं शिक्षासेवी स्व. सभापति लाल दास कर्णको स्मृतिमा विशेष ग्रन्थ प्रकाशन गरिएको छ।

विद्यालय र परिवारको समन्वयमा तयार पारिएको ‘स्मृतिमा सभापति लाल दास कर्ण’ शीर्षकको ग्रन्थको सरस्वती पूजाको अवसर पारेर माघ ९ गते विद्यालय परिसरमा आयोजित एक भव्य समारोहका बीच विमोचन गरिएको हो। नेपाली कांग्रेसका नेता गुरुराज घिमिरे, नेपाली कम्युनिष्ट पार्टीका नेता अमनलाल मोदी, संविधान सभा सदस्य पवनकुमार सारडा, उद्योगपति एवं समाजसेवी महेश कुमार जाजु, कोशी प्रदेश सभा सदस्य गणेश उप्रेती ‘सुशिल’ र प्राध्यापक अमृत आचार्यले संयुक्त रूपमा उक्त ग्रन्थको विमोचन गर्नुभएको थियो।

सो अवसरमा वक्ताहरूले पञ्चायतकालीन कठिन समयमा पनि दुरदराजका सर्वसाधारणलाई शिक्षाको पहुँचमा ल्याउन कर्णले गरेको संघर्ष र योगदानको चर्चा गर्नुभयो। स्व. कर्णका छोरा विवेक कर्णका अनुसार, उहाँले शिक्षा क्षेत्र र समाजमा पु-याउनुभएको योगदानलाई जीवन्त राख्न र नयाँ पुस्तालाई जानकारी गराउन पूर्व शिक्षक तथा विद्यार्थीहरूको सहयोगमा यो ग्रन्थ तयार पारिएको हो।

पेशाले शिक्षक भए पनि ‘अमिन’ समेत रहनुभएका कर्णले आफ्नो कार्यकालमा २८ बिघा ऐलानी पर्ती जग्गाको खोजि गरी विद्यालयको नाममा कायम गराउन महत्वपूर्ण भूमिका खेल्नुभएको उहाँका छोरा विवेक कर्णले जानकारी दिनुभयो ।

कुल १४० पृष्ठको यस स्मृति ग्रन्थको प्रधान सम्पादकमा पूर्व शिक्षक गायत्री कुमार चापागाईं रहनुभएको छ भने सम्पादनमा छोरा विवेक र बुहारी शान्ता कर्णले सहयोग गर्नुभएको छ । ग्रन्थमा तत्कालिन समय र सभापति लालको व्यक्तित्वबारे गायत्री कुमार चापागाई,सीताराम आचार्य,केशव निरौला,माधव घिमिरे,विश्वनाथ भट्टराई र तेजप्रसाद खनाल सहितका ४६ जना लेखकका लेखहरू समेटिएका छन्। वि.सं. २०१४ सालमा ‘नयाँ राष्ट्रिय सरल बाल विद्यालय’ को रूपमा स्थापना भएको यो विद्यालय हाल उच्च माविसम्म सञ्चालित रहेको विद्यालयका प्रधानाध्यापक अशोक कुमार लुईटेलले जानकारी दिनुभयो ।

स्व. कर्णले वि.सं. २०१६ देखि २०५० सालसम्म सोही विद्यालयमा सुरुमा प्रधानाध्यापक र पछि शिक्षकको रूपमा सेवा पु-याउनुभएको जनाईएको छ ।

सम्बन्धित खबरहरु