विराटनगर १० माघ । विराटनगर–३, पुष्पलाल चोकमा रहेको पोल स्टार बोर्डिङ स्कुलले विविध कार्यक्रमको आयोजना गरी आफ्नो ३० औं वार्षिकोत्सव मनाएको छ ।

सो विद्यालयले आफ्नै प्राङ्गणमा विविध कार्यक्रम आयोजना गर्दै आफ्नो वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको समुद्घाटन प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै नैतिक र व्यावहारिक शिक्षा दिएर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले वर्तमान समयमा प्रतिस्पर्धी र संस्कारयुक्त जनशक्ति उत्पादन गर्नु विद्यालयहरूको मुख्य दायित्व रहेको बताउनुभयो । विद्यालयका प्रिन्सिपल राजकुमार दंगालले विद्यालयले स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षालाई प्राथमिकता दिँदै आएको र आगामी दिनमा अझ परिष्कृत गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यसैगरी विद्यालयका प्रबन्ध निर्देशक गोपलाल रिजालले विद्यालयले शिक्षा क्षेत्रमा दिएको तिन दशक लामो योगदानकै कारण विद्यालयमा अध्यन गरेका सयौं विद्यार्थीहरू दक्ष र स्वरोजगार बन्न सफल भएको बताउनुभयो । दीपेन्द्र बाह्रकोटीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अभिभावकका तर्फबाट मन्तव्य राख्दै दमन पोखरेलले शिक्षा क्षेत्रमा पोल स्टारको योगदान अतुलनिय रहेको बताउनुभयो । वार्षिकोत्सवको अवसरमा विद्यालयका विद्यार्थीहरूले नाटक, गीत तथा विभिन्न सांस्कृतिक नृत्यहरू प्रस्तुत गरी दिनभर मनोरञ्जन प्रदान गरेका थिए ।

नर्सरीदेखि कक्षा १० सम्म अध्यापन हुने उक्त विद्यालयमा हाल ६ सयभन्दा बढी विद्यार्थीहरू अध्ययनरत रहेका छन् ।

सम्बन्धित खबरहरु