माघ ७ । ग्रामथान गाउँपालिका–२ झोराहाटस्थित जनक मेमोरियल सेकेन्डरी बोर्डिङ स्कुलले आफ्नो ३४ औं वार्षिकोत्सव मनाएको छ ।

सो स्कुलले विविध कार्यक्रमको आयोजनागर्दै आफ्नो वार्षिकोत्सव मनाएको हो । स्कुल परिसरमा आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्दै नाटक, गायन, नृत्य र कविता वाचन प्रस्तुत गरेका थिए । सो अवसरमा आयोजित विज्ञान प्रदर्शनी तथा चित्रकला र हस्तकला प्रदर्शनीले अभिभावक तथा आगन्तुकहरूको विशेष ध्यान खिचेको थियो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख शालिग्राम दाहालले विद्यालयले बितेको ३४ बर्षमा शिक्षा क्षेत्रमा दिएको योगदान प्रशंसनिय रहेको बताउनुभयो । विद्यालयका प्रिन्सिपल सुनिल भगतले विद्यालयले संस्कारसहितको गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको बताउनुभयो ।

विद्यालयले आफ्नो उत्सवको अवसर पारेर पूर्वविद्यार्थी र ज्येष्ठ नागरिकहरूलाई समेत सम्मान गरेको छ । करिब ६ सय विद्यार्थी र अभिभावकहरूको प्रत्यक्ष सहभागिता रहेको उक्त कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको स्कुलका व्यवस्थापक सुखाराम माझीले जानकारी दिनुभयो ।

स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षामा जोड दिँदै आएको जनक मेमोरियल गत वर्षको एसइई परीक्षामा ग्रामथान पालिकाकै उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालय हो । युवाहरूको कुशल व्यवस्थापन र दक्ष शिक्षक–शिक्षिकाको मेहनतका कारण यो स्कुल झोराहाट क्षेत्रको प्रमुख शैक्षिक संस्थाको रूपमा स्थापित छ । अतिरिक्त क्रियाकलापमा समेत सधैं अब्बल ठहरिँदै आएको यस विद्यालयले आफ्नो ३४ औं स्थापना दिवसलाई उपलब्धिमूलक बनाउँदै सम्पन्न गरेको छ ।

उक्त विद्यालयमा बाल कक्षादेखी १२ सम्म करिब १३ सय बढी विद्यार्थी अध्यनरत रहेको जनाईएको छ ।

सम्बन्धित खबरहरु