विराटनगर — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ४ बाट नेपाली कम्युनिस्ट पार्टीले प्रभावशाली युवा नेता अमनलाल मोदीलाई चुनावी मैदानमा उतार्ने निर्णय गरेको छ ।

२०५६ सालदेखि विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका मोदीले जनयुद्ध र जनआन्दोलनका क्रममा थारु, मधेसी, मुस्लिम र सीमान्तकृत समुदायको हकहितका लागि खेलेको भूमिका नै उनको राजनीतिको मुख्य जग हो । २०६० सालमा अखिल (क्रान्तिकारी) को मोरङ जिल्ला अध्यक्ष हुँदा तत्कालीन शाही सेनाबाट पक्राउ परी २ वर्ष ३ महिना कठोर जेल जीवन बिताएका मोदीको साहस र त्यागलाई पार्टीले सधैँ उच्च मूल्याङ्कन गर्दै आएको छ ।

पार्टी रूपान्तरण र संगठन निर्माणमा मोदीको योगदान अतुलनीय मानिन्छ। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिक सदस्यका रूपमा संसदीय यात्रा सुरु गरेका उनले २०७४ र २०७९ को आम निर्वाचनमा मोरङ ४ बाटै प्रत्यक्ष निर्वाचित भई सफलताको ह्याट्रिक गर्ने अवसर प्राप्त गरेका थिए ।

२०७९ को निर्वाचनमा नेकपा एमालेका हेभीवेट उम्मेदवारलाई ६ हजारभन्दा बढी मतान्तरले पराजित गरेपछि उनको कद राष्ट्रिय राजनीतिमा थप उचाइमा पुग्यो । पुष्पकमल दाहाल ’प्रचण्ड’ नेतृत्वको सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हुँदा उनले वर्षौँदेखि रोकिएको संघीय निजामती ऐनलाई अगाडि बढाएर सुशासनका पक्षमा ऐतिहासिक कदम चालेका थिए । जनताको भावना अनुसार काम गर्ने शैलीकै कारण उनी आफ्नो निर्वाचन क्षेत्रमा ’विकासका पर्याय’ मानिन्छन् ।

मोदीको कार्यकालमा मोरङ ४ मा समृद्धिको लहर नै आएको स्थानीयको बुझाइ छ । विशेष गरी ग्रामथान र मोतीपुरको पुल, लोहन्द्राको पुल, गिधनियाको पुल जस्ता महत्त्वपूर्ण भौतिक संरचनाको निर्माण उनकै पहलमा सम्भव भएको हो । उनले पुष्पलाल चोकदेखि विराटचोकसम्मको फोर–लेन सडक र विराटनगर चक्रपथ निर्माणमा देखाएको तदारुकताले यस क्षेत्रको मुहार फेरिएको छ ।
विकासलाई भौतिक पूर्वाधारमा मात्र सीमित नराखी उनले गरिब, दलित र सुकुम्बासीहरूका लागि नमुना बस्ती निर्माण गरी आवासको अधिकार सुनिश्चित गरेका छन् । शिक्षा क्षेत्रमा पनि उनको योगदान उत्तिकै छ; आफ्नो निर्वाचन क्षेत्रका माध्यमिक र उच्च माध्यमिक विद्यालयहरूलाई ’नमुना विद्यालय’का रूपमा स्तरोन्नति गराएर उनले शैक्षिक गुणस्तरमा सुधार ल्याएका छन् ।

विराटनगर विमानस्थलको विस्तार, अन्तर्राष्ट्रिय स्तरको खेलमैदान निर्माण जस्ता रणनीतिक योजनादेखि खस आर्य, थारु र उत्पीडित समुदायको पहिचानको मुद्दामा सदनमा बुलन्द आवाज उठाउनेसम्मका कार्यले मोदीलाई सर्वस्वीकार्य नेता बनाएको छ ।

कटहरी र ग्रामथान गाउँपालिकाका साथै बेलबारी नगरपालिकाका वडा नम्बर ५, ६ र ७ तथा विराटनगर महानगरपालिकाका केही वडाहरू समेटिएको यस क्षेत्रमा उनको बलियो सांगठनिक पकड र विकासवादी छविका कारण पार्टीले पुनः उनीमाथि भरोसा गरेको हो । पछिल्लो चरणमा नेपाली कांग्रेसभित्रको बढ्दो गुटबन्दी र आन्तरिक विवाद तथा नेकपा एमालेभित्र चुलिएको असन्तुष्टिको अवस्थाले गर्दा यस पटक मोदीले अझ सहज रूपमा जित निकाल्ने उनका समर्थकहरूको दाबी छ ।

प्रतिपक्षी दलहरूभित्रको यही कमजोरी र आफ्नो विकासको विरासत जोगाउँदै चौथो पटक संसद् छिर्ने लक्ष्यका साथ मोदी अहिले अधुरा योजना र युवा स्वरोजगारका एजेन्डा बोकेर चुनावी अभियानमा होमिएका छन् ।

सम्बन्धित खबरहरु