कटहरी १९ पौष । आयोजक कटहरी वडा नं. ३ ले ‘पाँचौँ वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता’को उपाधि चुमेको छ ।
शनिबार सम्पन्न अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलमा होराइजन क्रिकेट एकेडेमी विराटनगरलाई ८ रनले स्तब्ध पार्दै वडा नं. ३ ले नगद राशि ५१ हजार र ट्रफीमाथि कब्जा जमाएको हो । यस्तै उपबिजेता टिमले नगद २५ हजार हात पारेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कटहरी वडा नं. ३ ले निर्धारित २० ओभरमा १६७ रनको बलियो योगफल खडा गरेको थियो ।
टोलीका लागि कप्तान नीरज मुखियाले ओपनिङमा सम्हालिएको प्रदर्शन गर्दै ४३ बलमा ५२ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ७ चौका र १ छक्का प्रहार गरेका थिए । खेलको उत्तरार्धमा कपिल मण्डलले आक्रामक ब्याटिङ गर्दै खेलको रूप नै बदलिदिए । उनले मात्र १७ बलमा ४ छक्का र १ चौकाको मद्दतले विष्फोटक ३७ रन जोडेपछि टोली सम्मानजनक स्कोरमा पुगेको थियो ।

होराइजनका तर्फबाट पप्पु यादवले घातक बलिङ गर्दै ४ ओभरमा २१ रन दिएर ४ विकेट लिएका थिए । १६८ रनको लक्ष्य पछ्याएको होराइजन क्रिकेट एकेडेमीका लागि पप्पु यादवले ब्याटिङमा पनि जादु देखाए । उनले ४३ बलमा ७८ रनको विष्फोटक इनिङ्स खेल्दै टोलीलाई जितको नजिक पु-याएका थिए । उनले आफ्नो पारीमा ८ छक्का र ४ चौका प्रहार गरे ।
खेल अन्तिम ओभरमा पुग्दा होराइजनलाई जितका लागि मात्र ११ रन आवश्यक थियो । तर, कटहरीका बलर अभय कामतले दबाबका बिच उत्कृष्ट बलिङ गर्दै होराइजनलाई लक्ष्य भेटाउन दिएनन् । बलिङतर्फ कप्तान नीरज मुखियाले २ विकेट लिए भने अभयले १ विकेट हात पारे । अन्ततः होराइजन ८ रनले पराजित हुन पुग्यो ।

प्रतियोगितामा कटहरी ३ का कपिल मण्डल म्यान अफ दी म्याच घोषित भए भने होराईजनका पप्पु यादव प्रतियोगिताकै उत्कृष्ट खेलाडी र अभिषेक कार्की उत्कृष्ट ब्याट्सम्यान र दिपेश कँँडेल उत्कृष्ट बलर घोषित भए ।
बिजेता उपबिजेता लगायतलाई कोशी प्रदेश सभा सदस्य भीम पराजुली र कटहरी ३ का वडाध्यक्ष जदुलाल कामत लगायतले बिजेता उपबिजेता सहित अन्यलाई पुरस्कार र ट्रफी वितरण गर्नुभयो ।

