कटहरी, १७ पौष विराटनगरको होराइजन क्रिकेट एकेडेमी जारी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा झापाको अर्जुनधारा नगरपालिकालाई ६ विकेटले पराजित गर्दै होराइजनले उपाधि भिडन्त पक्का गरेको हो । खेलमा टस जितेर होराइजन क्रिकेट एकेडेमीले पहिला बलिङ गर्ने निर्णय गरेको थियो। होराइजनका बलर दिपेश कँडेलको घातक बलिङसामु अर्जुनधाराका ब्याट्सम्यानहरू टिक्न सकेनन्। दिपेशले मात्र २१ रन खर्चेर महत्वपूर्ण ५ विकेट लिँदै अर्जुनधाराको ब्याटिङ लाइन ध्वस्त पारे।
अर्जुनधाराका लागि दिपु भुजेलले २१ बलमा २८ रन (२ छक्का र ३ चौका) र सुजन थपलियाले १७ बलमा २७ रन (१ छक्का र २ चौका) को योगदान दिए पनि टोलीले ठूलो योगफल खडा गर्न सकेन। निर्धारित ओभरमा अर्जुनधाराले १४० रन बनाउँदै होराइजनलाई १४१ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
१४१ रनको विजयी लक्ष्य पछ्याएको होराइजनले उत्कृष्ट सुरुवात ग¥यो। ओपनर सन्तोष कार्कीले विष्फोटक ब्याटिङ गर्दै मात्र ४७ बलमा ७२ रनको शानदार इनिङ खेले। उनले आफ्नो इनिङमा ६ छक्का र ३ चौका प्रहार गर्दै खेललाई सहज बनाएका थिए।
बलिङतर्फ अर्जुनधाराका सिद्धार्थ कुमालले १७ रन खर्चेर २ विकेट लिए पनि अन्य बलरहरूले होराइजनका ब्याट्सम्यानलाई रोक्न सकेनन्। अन्ततः होराइजनले ६ विकेट गुमाएर लक्ष्य भेट्टायो। खेलको उत्कृष्ट प्रदर्शनका लागि होराइजनका बलर दिपेश कँडेल र ब्याट्सम्यान सन्तोष कार्की संयुक्त रूपमा ‘म्यान अफ द म्याच’ घोषित भए। उनीहरूलाई अजित कामतले पुरस्कार प्रदान गर्नुभएको थियो।
अब उपाधिका लागि पौष १९ गते आयोजक कटहरी वडा नं. ३ र होराइजन क्रिकेट एकेडेमी बीच कटहरी क्रिकेट मैदानमा प्रतिस्पर्धा हुनेछ ।




