कटहरी,१६ पौष । कटहरी गाउँपालिकामा बुधबारदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
गाउँपालिकाको आयोजनामा कटहरी–६ स्थित केशोरियाको सरस्वती आधारभूत विद्यालयको प्राङ्गणमा दुईदिने प्रतियोगिता सुरु भएको हो । सो स्थानमा आयोजित एक विशेष कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

कटहरीका कुल १९ विद्यालयमध्ये प्रतियोगितामा १३ वटा विद्यालयका ३ सय ३५ जना विद्यार्थीले सहभागिता जनाइरहेका छन् । सहभागी विद्यालयमध्ये ८ वटा सामुदायिक र ५ वटा संस्थागत विद्यालय रहेका छन् । प्रतियोगितामा कबड्डी, भलिबल र एथलेटिक्ससहित विभिन्न १२ वटा विधाका खेलहरू हुने कटहरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख पुष्प बहादुर बस्नेतले जानकारी दिनुभयो ।
सो अवसरमा बोल्दै कटहरीका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीले अध्ययनका क्रममा दिइने शिक्षाको साथै खेलकुदले विद्यार्थीको सर्वाङ्गीण विकासमा मद्दत मिल्ने विश्वास व्यक्त गर्नुभयो । यस्तै, गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले विजयी हुने खेलाडीलाई पालिकाले जिल्ला तथा प्रदेश स्तरीय खेलमा सहभागी हुन आवश्यक सहयोगकालागि बजेटको ब्यवस्थागर्ने आश्वासन दिनुभयो ।

कार्यक्रमका बीच विभिन्न विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक तथा राष्ट्रिय भावनाले ओतप्रोत गीतहरूमा नृत्य प्रस्तुत गरेका थिए । विक्रम संवत् २०६५ सालसम्म वीरेन्द्र रनिङ शिल्ड प्रतियोगिताको रूपमा सञ्चालन हुँदै आएको यस प्रतियोगितालाई २०६६ सालदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा रूपान्तरण गरिएको थियो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सीतादेवी राजवंशी र सामाजिक विकास समिति अध्यक्ष मनोजकुमार माझी लगायतको सहभागिता रहेको थियो ।





