कटहरी १५ पुष । विराटनगरको होराइजन क्रिकेट एकेडेमी कटहरीमा जारी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा कटहरी क्रिकेट एकेडेमी एण्ड क्लबलाई ७५ रनको फराकिलो अन्तरले पराजित गर्दै होराइजनले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । यस जितसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण समेत पूरा भएको छ ।

अब सेमिफाइनलमा होराइजनसँगै इटहरी उपमहानगरपालिका, कटहरी वडा नं. ३ र अर्जुनधारा (झापा) बीच प्रतिस्पर्धा हुनेछ । टस जितेर पहिले ब्याटिङ रोजेको होराइजन क्रिकेट एकेडेमीले निर्धारित ओभरमा १९४ रनको विशाल योगफल तयार पारेको थियो ।

होराइजनका लागि पप्पु यादवले विष्फोटक ब्याटिङगर्दै मात्र ३४ बलमा ६ चौका र ५ छक्काको मद्दतले ७४ रन जोडे । त्यस्तै, अटल शाहले २० बलमा १९ रनको योगदान दिए । बलिङतर्फ कटहरीका सुमित यादवले २१ रन खर्चेर २ विकेट र सौरभ कामतले ३६ रन खर्चेर २ विकेट लिए पनि होराइजनको रन गति रोक्न सकेनन् ।

१९५ रनको विशाल लक्ष्य पछ्याएको घरेलु टोली कटहरी क्रिकेट एकेडेमी ११९ रनमै समेटियो । कटहरीलाई सस्तैमा समेट्न होराइजनका दिपेश कँडेलले घातक बलिङ गरे । उनले किफायती बलिङगर्दै मात्र १५ रन खर्चिएर ५ विकेट लिएपछि कटहरीको ब्याटिङ लाइनअप धराशायी बनेको थियो ।

कटहरीका लागि श्याम मण्डलले ३२ बलमा २१ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा उल्लेख्य रन जोड्न सकेनन् । खेलको ‘म्यान अफ द म्याच’ घातक बलिङ गर्ने दिपेश कँडेल घोषित भए । उनलाई कटहरी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जदुलाल कामतले पुरस्कृत गर्नुभयो । त्यस्तै, ५ विकेट लिएको उपलक्ष्यमा अजित कामतले कण्डेललाई बल उपहार प्रदान गर्नुभयो ।

प्रतियोगिता अन्तर्गत भोलि (बुधबार) पहिलो सेमिफाइनल खेल हुनेछ । जसमा आयोजक कटहरी वडा नं. ३ र इटहरी उपमहानगरपालिका बीच फाइनल प्रवेशका लागि भिडन्त हुनेछ ।

सम्बन्धित खबरहरु