विराटनगर १५ पुष । गुरुङ समुदायको महान् सांस्कृतिक पर्वकारुपमा मनाईने तमू ल्होसार पर्व आज धुमधामका साथ मनाईदैछ । गुरुङ समुदायले नयाँ बर्षकोरुपमा मनाउने तमु ल्होसरपर्वमा यसबर्ष मुसा बर्गलाई बिदाईगरी घोडा बर्गलाई स्वागतगर्दै ल्होसार मनाई रहेका छन ।

तमु ल्होसार पर्वको अवसरमा विराटनगरमा विविध कार्यक्रम आयोजना गरिएको छ । सो अवसरमा विराटनगर ७ को हरियाली पार्कमा महानगरसहित आसपासका पालिकाबाट भेला भएका गुरुङ समुदायले नाचगानगरि मनोरंजन गर्नुका साथै ल्होसर पर्वको बिषयमा चर्चा परिचर्चा समेत गरिएको छ ।

तमु ल्होसारको अवसरमा तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्, विराटनगर नगर इकाई समितिले सो ठाउँमा पर्व बिशेष कार्यक्रम आयोजना गरेको हो । परिषदले ल्होसारको अवसरमा यसअघि पुष १३ गते शुभकामना आदानप्रदान,१४ गते बिहान सडक दौड प्रतियोगिता र साँझ महेन्द्रचोकमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको आयोजक समितिका कार्यवाहक अध्यक्ष श्यामकुमार गुरुङले बताउनुभयो ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोईराला,बुढीगंगा र जहदा गाउँपालिकाका अध्यक्षद्वय जीतनारायण थापा मगर जितेन्द्र साह लगायत सहभागि हुनुभयो ।

यसबर्षको ल्होसारमा गुरुङ समुदायले सप्री ल्हो अर्थात सर्प बर्गलाई बिदाईगरी तल्हो घोडाबर्गलाई स्वागत गर्दैछन । ’ल्हो’ को अर्थ वर्ष र ’सार’ को अर्थ फेरिनु हो । गुरुङ समुदायमा १२ वटा जीवजन्तु (मुसा, गाई, बाघ, बिरालो, गिद्ध, सर्प, घोडा, भेंडा, बाँदर, चरा, कुकुर र मृग) लाई आधार मानेर वर्ष गणना गर्ने प्रचलन छ ।

पुस १५ गते रात सबैभन्दा लामो हुने र यसपछि दिन लामो हुँदै जाने हुनाले यसलाई प्रकाश र नयाँ जीवनको प्रतीकका रूपमा पनि लिइन्छ ।

यो पर्व गुरुङ समुदायको धार्मिक, सांस्कृतिक र सामाजिक पहिचानसँग जोडिएको छ । यस दिन परिवारका सदस्यहरू एकै ठाउँमा भेला भई परम्परागत परिकार (सेलरोटी, अचार, मासु) खाने पारम्परिक तथा मौलिक नाचहरू नाच्ने र पितृहरूको स्मरण गर्ने गरिन्छ ।

तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदले बार्षिकरुपमा आयोजनागर्ने यस प्रकारको कार्यक्रमले समुदायमा आपसी प्रेम, एकता र भ्रातृत्वको सन्देश प्रवाह गर्नुका साथै सांस्कृतिक रितिथितिलाई पुस्तान्तरण गर्न समेत सघाउ पुग्छ ।

सम्बन्धित खबरहरु