विराटनगर १४ पुष । मोरङको कटहरी गाउँपालिका वडा नम्बर ३ को आयोजनामा जारी ‘पाँचौँ वडाध्यक्ष कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता’ को तेस्रो दिनको खेलमा झापाको अर्जुनधारा नगरपालिकाको क्रिकेट टोली विजयी भएको छ ।
सोमबार सम्पन्न रोमाञ्चक प्रतिस्पर्धामा विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमी (बि.सि.सि.ए.लाई ३० रनले पराजित गर्दै अर्जुनधाराले जित हात पारेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको अर्जुनधाराले निर्धारित २० ओभरमा १५१ रनको सम्मानजनक स्कोर खडा गरेको थियो ।
अर्जुनधाराका लागि दिपु भुजेलले उत्कृष्ट ब्याटिङ गर्दै ४८ बलमा ५६ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै, पवन कर्णले २१ बलमा २९ रनको योगदान दिए । विराटनगर बिसिसिएका बलर प्रशान्तले कसिलो बलिङ गर्दै १० रन मात्र खर्चेर ४ विकेट लिए पनि अर्जुनधारालाई मध्यम योगफल बनाउनबाट रोक्न सकेनन् ।
१५२ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमी अर्जुनधाराका बलरहरूको धारिलो बलिङ सामु टिक्न सकेनन । विराटनगरको टोली १२१ रनमै अलआउट हुन पुग्यो । टोलीका लागि कृष शर्माले ३१ बलमा ३७ रन बनाउनु बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
अर्जुनधाराको जितमा सिद्धार्थ कुमालले २६ रन खर्चेर ३ विकेट लिए भने दिपु भुजेलले २ विकेट चट्काए । ब्याटिङ र बलिङ दुवै तर्फ उत्कृष्ट प्रदर्शन गरेका अर्जुनधाराका दिपु भुजेल खेलको ’म्यान अफ द म्याच’ घोषित भए ।
उनलाई कोशी प्रदेशका प्रमुख चयनकर्ता सुरेश गुरागाईंले पुरस्कार प्रदान गर्नुभएको थियो ।
