कटहरी पुष १४ । मोरङको कटहरी गाउँपालिकामा आदिवासी जनजातिहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनमा रहेका अधिकारसम्बन्धी दुईदिने कानुनी सचेतनामूलक कार्यक्रम सुरु भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद्, कटहरीको आयोजना तथा लाहुर्निप नेपालको प्राविधिक सहजीकरणमा सोमबारदेखि उक्त कार्यक्रम सुरु भएको हो । कार्यक्रमको उद्घाटन गर्दै कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले आदिवासी जनजाति समुदायलाई आफ्ना अधिकार र कानुनी व्यवस्थाबारे जानकारी हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले समाजको विकास र न्यायका लागि कानुनी साक्षरता पहिलो सर्त भएको समेत बताउनुहुँदै सचेतनामूलक कार्यक्रमले अगुवाहरूलाई सशक्त बनाउने समेत विश्वास ब्यक्त गर्नुभयो ।
दुई दिनसम्म चल्ने अभिमुखीकरणमा कटहरी गाउँपालिका भित्रका १८ वटा जातीय संघ संस्थाका ३६ जनाभन्दा बढी आदिवासी अगुवाहरूको सहभागिता रहेको छ । सहभागीहरूलाई लाहुर्निप नेपालका अध्यक्ष दिनेश घले, सचिव भीम राई र अधिकारकर्मी राम सागर चौधरीले सहजीकरण गरिरहनु भएको छ ।
कार्यक्रममा आदिवासी जनजातिहरूको आत्मनिर्णयको अधिकार, जल, जमिन र जंगलमाथिको अधिकारका साथै अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओ महासन्धि १६९ र युएनड्रिप का प्रावधानहरूबारे छलफल गरिने आयोजकले जनाएको छ ।
कार्यक्रमले स्थानीय तहमा नीति निर्माण र योजना तर्जुमागर्दा आदिवासी समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सघाउ पु¥याउने विश्वास लिइएको छ ।

