विराटनगर १० पुष । मैथिली भाषा–संस्कृति संरक्षण तथा प्रर्बधनको उद्धेश्यसहित विराटनगरमा दुई दिने अन्तर्राष्ट्रीय मैथिली सम्मेलन हुने भएको छ ।
मैथिली एसोसिएशन नेपाल तथा मैथिली सेवा समितिको संयुक्त आयोजनामा यहि पुष १२ र १३ गते सम्मेलन आयोजना हुने भएको हो । आयोजक समितिले बिहीबार पत्रकार भेंटघाटको आयोजनागर्दै सम्मेलनको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्नुहुँदै मैथिली एशोसिएसनका अध्यक्ष प्रवीणनारायण चौधरीले विश्वभरिका मैथिली भाषा–भाषिलाई जोड्न एउटा स्तरीय कार्यक्रम आयोजनागर्न लागिएको बताउनुभयो । उहाँले कार्यक्रममा मैथिली भाषा साहित्य तथा मिथिला संस्कृति सभ्यताको संरक्षण,संवर्धन एव प्रर्बधनकालागि बृहत स्तरको बौद्धिक विमर्श,कवि सम्मेलन सहित सांगितक प्रस्तुति रहने जानकारी दिनुभयो ।
अध्यक्ष चौधरीले संस्थाले आफ्नो स्थपना काल देखि नै भाषा संरक्षणका विविध कार्यक्रम आयोजना गर्दै आएको समेत बताउनुभयो ।
सो अवसरमा बोल्नुहुँदै संस्थाका अध्यक्ष पंकज बर्माले भाषा आयोगको सिफारिस बमोजिम कोशी प्रदेश सरकारले प्रदेशमा मैथिली र लिम्बु कामकाजी भाषाकोरुपमा अनुमति दिने बताएपनि त्यो कार्यान्वयन नभएको बताउनुभयो । उहाँले सम्मेलन पश्चात संस्थाले त्यस बिषयलाई समेत उठान गर्ने बताउनुभयो ।

विराटनगर १४ स्थित रंगि होटलमा आयोजना हुने सम्मेलनमा नेपाल,भारत सहित तेश्रो मुलुकबाट समेत मैथिली विद्धान तथा साहित्यकारहरुको सहभागिता हुने कार्यक्रममा बताईएको थियो । सम्मेलनमा विभिन्न ११ वटा बिषय सन्दर्भमाथि विद्वत विमर्श हुने जनाईएको छ ।
ति बिषयहरुमध्ये रोजिरोटिका कारण भाषाभाषिको पलायन,मिथिलाक्षेत्रको पर्यटन,उद्योग ब्यवसाय र आर्थिक विकासका सम्भावनाहरु,मैथिली फिल्मको वर्तमान र भविष्य र नेपालमा राजनीतिक स्थिरता,शान्ति र समृद्धिकालागि चिन्तन जस्ता विषयहरुमा माथि विद्धत वर्गबिच गहन छलफल हुने आयोजक समितिले जनाएको छ ।

दुईदिने कार्यक्रमकालागि मधेश प्रदेशका प्रदेश प्रमुख डा.सुरेन्द्र लाभ र कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री सदानन्द मण्डल तथा सामाजिक विकास मन्त्री पाँचकर्ण राई लाई विभिन्न सत्रकालागि प्रमुख अतिथिकोरुपमा आमन्त्रण गरिएको आयोजक समितिले जनाएको छ ।





