विराटनगर । ज्येष्ठ नागरीकहरुकालागि विराटनगरमा आध्यात्म विमर्श एवं ध्यान सचेतना अभ्यास कार्यक्रम आयोजना गरिएको छ ।
नेपाल ग्रामीण विकास समाज केन्द्रले कार्यक्रम आयोजना गरेको हो । विराटनगर–९ स्थित ब्रह्मज्ञानी विश्रामालयमा आयोजना गरिएको कार्यक्रममा ७० बढी ज्येष्ठ नागरीकहरुले सहभागिता जनाएका छन । कार्यक्रममा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव उद्धवप्रसाद रिजालले सहजीकरण गर्नुभयो ।
उहाँले सहभागिलाई ध्यानका विविध आयामहरुको बिषयमा जानकारी गराउनुभयो । हालै सम्पन्न भएको विश्व ध्यान दिवसको सेरोफेरोमा कार्यक्रम आयोजना गरिएको आयोजक समितिले जनाएको छ ।
ध्यान र साधनाले मानिसको तनाव कमगर्न मदतगार साबित भएकाले आश्रमसंग सम्बद्ध ज्येष्ठ नागरीकका साथै आसपासका विभिन्न वडाका ज्येष्ठ नागरीकहरुलाई सहभागि गराएर कार्यक्रम गरिएको नेपाल ग्रामीण विकास समाज केन्द्रका सभापति मणिकुमार अज्र्यालले जानकारी दिनुभयो ।
नेपाल ग्रामीण विकास समाज केन्द्रद्वारा संचालित ब्रह्मज्ञानी विश्रामालयले ज्येष्ठ नागरीकहरुलाई लामो समयदेखी निःशुल्क फिजियोथेरापी सेवा समेत उपलब्ध गराउँदै आएको उहाँले जानकारी दिनुभयो ।





