विराटनगर २९ कात्र्तिक । मोबाइल फोन र इन्टरनेटको बढ्दो दुरुपयोगलाई न्यूनिकरणगर्न इस्लामी संघ नेपालले विद्यार्थी लक्षित पाँचदिने सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
संघको कोशी प्रदेश कार्यालयले विद्यार्थीहरूलाई मोबाइल, इन्टरनेट तथा सामाजिक सञ्जालको सुरक्षित र सदुपयोगबारे जागरूक बनाउने उद्देश्यसहित पाँचदिने कार्यक्रम सञ्चालन गरेको हो । उक्त कार्यक्रमअन्तर्गत विराटनगरका विभिन्न विद्यालयका विद्यार्थीलाई सहभागी गराई संगोष्ठी आयोजना गरिएको थियो ।
कार्यक्रमको अवधिमा प्रदेशका विभिन्न विद्यालयमा पुगेर मोबाइल तथा इन्टरनेट प्रयोगसम्बन्धी पर्चा–पम्प्लेट वितरण गर्ने, साथै विषय विज्ञहरूलाई सहभागी गराएर अन्तरक्रियात्मक सत्रहरू सञ्चालन गरिएको आयोजक संस्थमका अध्यक्ष सज्जाद अन्सारीले जानकारी दिनुभयो ।
आयोजक संस्थाका सचिव मो. फारुकले संघको केन्द्रीय कार्यक्रम अन्तर्गत देशभरका पाँच प्रदेशमा विद्यार्थी लक्षित सचेतना कार्यक्रम एकसाथ सञ्चालन गरिएको बताउनुभयो ।
संगोष्ठीमा बोल्दै सामुदायिक प्रहरी सेवा केन्द्र तिनपैनीकी अध्यक्ष मीना जोशीले विद्यार्थीमा मोबाइल फोनको अत्यधिक प्रयोगका कारण विविध प्रकारका समस्या देखिन थालेको बताउनुभयो । उहाँले विद्यार्थीलाई मोबाइल फोनको सकारात्मक प्रयोगतर्फ उन्मुख गराउन अभिभावक तथा शिक्षक दुवै सतर्क हुन आवश्यक रहेको समेत बताउनुभयो ।
त्यसअघि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका असिस्टेन्ट प्रोफेसर,समाजशास्त्री जाबेद आलमले कार्यक्रमका सहभागि विद्यार्थी तथा सर्वसाधारणलाई मोबाईल फोनको प्रयोगका सकारात्मक तथा नकारात्मक पक्षका बिषयमा जानकारी गराउनुभयो ।
इस्लामिक संघका कोशी प्रदेश सल्लाहकार मोहम्मद अफजल हुसैन ‘गुल्जार’ले संघले स्थापना कालदेखि नै समाज उन्नयनका विभिन्न अभियान सञ्चालनगर्दै आएको उल्लेखगर्दै यस वर्ष मोबाइल र इन्टरनेटको सदुपयोग सम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिएको बताउनुभयो ।
सो अवसरमा बोल्ने वक्ताहरूले मोबाइल फोन अपरिहार्य यन्त्र भएपनि यसको दुरुपयोगबाट बालबालिका प्रभावित हुँदै गएको भन्दै अभिभावक र गुरुवर्ग सचेत हुन आवश्यक रहेको धारणा व्यक्त गरे । कार्यक्रमका सहभागि विद्यार्थीहरुले समेत मोबाईल फोनको प्रयोग सम्बन्धि आफ्ना धारणा राखेका थिए ।
कात्तिक २४ देखि शुरु भएको कार्यक्रम शनिवार संगोष्ठी गरी समापन गरिएको हो ।




