मोरङको कटहरी गाउपालिका ६ सितपुरस्थित लक्ष्मी आधारभुत विद्यालयमा नवनिर्मित विद्याकी देवी सरस्वती मन्दिरको उद्घाटन तथा मुर्तीको प्राण प्रतिष्ठा गरिएको छ ।
विद्यालय परिसरमा आयोजित कार्यक्रमकाबिच कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले मन्दिरको उद्घाटन तथा मुर्तिको प्राणप्रतिष्ठा गर्नुभयो । लक्ष्मी आधारभुत विद्यालयको प्रवेशद्वारमा मन्दिरको स्थापना गरिएको छ ।
गाउँपालिका, वडा कार्यालय,अभिभावक तथा स्थानीयको संयुक्त सहयोगबाट १० लाख बढीको लागतबाट मन्दिर निर्माण गरिएको हो । मन्दिर निर्माणकालागि गाउँपालिका तथा ६ नम्बर वडा कार्यालयले ५ लाख,विद्यालयले २ लाख र लागेको थप १ लाख बढीको रकम स्थानीयले लगानी गरेको कटहरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तेजिन्द्र गौतमले जानकारी दिनुभयो ।
विद्यालय परिसरमा मन्दिर राख्दा विद्यार्थी अनुसाशित तथा नैतिकवान बन्न प्रेरणा मिल्ने भएकाले परम्परागतरुपमै स्कुल परिसरहरुमा सरस्वती मन्दिर स्थापनागर्ने प्रचलन रहेको कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले बताउनुभयो ।

कटहरी गाउँपालिकाको उत्तर–पश्चिमी क्षेत्रमा रहेको लक्ष्मी आधारभुत विद्यालयमा बाल कक्षादेखी ८ सम्म २ सय बढी विद्यार्थी अध्यनरत रहेकोमा अधिकांश बालबालिका दलित समुदायका रहेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजकुमार देवले जानकारी दिनुभयो ।
विद्यालयका प्रधानाध्यापक शिवनन्दन मेहताले अध्यनमैत्री वातावरणको निर्माणगर्न विद्यालयमा थप भौतिक संरचनाहरुको निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
२०५५ सालमा स्थापना भएको विद्यालय परिसरमा ११ कट्ठा जग्गा रहेको जनाईएको छ ।





