विराट रानी आँखा अस्पताल प्रा.लि. र नेपाल स्काउट, कोशी प्रदेश कार्यालयबिच आँखा उपचार सम्बन्धि द्विपक्षिय सम्झौता सम्पन्न भएको छ ।

विराटनगर ९ पाञ्चाली मोडस्थित अस्पताल परिसरमा दुई संस्थाबिच सम्झौता भएको हो । सम्झौता पत्रमा नेपाल स्काउटको तर्फबाट कोशी प्रदेशका प्रमुख आयुक्त हेमन्त भण्डारी र विराट रानी आँखा अस्पतालकातर्फबाट प्रमुख अस्पताल ब्यवस्थापक नित्यराज बस्यालले हस्ताक्षर गर्नुभयो ।

सम्झौतापछि कोशी प्रदेश नेपाल स्काउट आबद्ध ३० हजार सदस्यहरूले नियमित आँखा स्वास्थ्य परीक्षणदेखि शल्यक्रियासहितको उपचारमा बिशेष छुट सुविधा पाउने भएका छन् । सम्झौताअनुसार प्रदेश स्काउटले अस्पतालको प्राबिधिक सहयोगमा हरेक ६-६ महिनामा सर्वसाधारण लक्षित निःशुल्क आँखा स्वास्थ्य परीक्षण शिविर समेत आयोजना गर्नेछन ।

यस्तै स्काउट सदस्यले आफ्नो परिचयपत्र देखाएर विराट रानी आँखा अस्पतालमा उपचार गराउँदा बिशेष छुट सुविधा पाउने सम्झौतामा उल्लेख छ । जस अन्र्तगत प्रदेशभरिका स्काउट तथा स्काउटरहरुलाई अस्पतालले निःशुल्क ओपिडी सेवा उपलब्ध गराउनुका साथै अस्पतलामा लाग्ने सम्पुण खर्चमा २५ प्रतिशत छुट सुविधा उपलब्ध गराउने छ ।

यस्तै कोशी प्रदेशको १ सय ३७ पालिकामा रहेका स्काउटको समितिहरु मार्फत प्रत्येक पालिकाका सर्वसाधारणहरुलाई समेत आँखा उपचारको सुविधा उपलब्ध गराउने उद्धेश्यसहित सम्झौता गरिएको स्काउटका प्रदेश आयुक्त भण्डारीले बताउनुभयो ।

सम्झौता अनुसार अस्पतालले निशुल्क शिविर आयोजनाको क्रममा प्राबिधिक र चिकित्सकिय सहयोग उपलब्ध गराउने छ भने औषधि उपचारमा समेत छुट दिने व्यवस्था गरिएको छ ।

अस्पतालले सामाजिक उत्तरदायित्व अन्र्तगत निःशुल्क शिविर संचालन गर्नेदेखी विभिन्न सामाजिक संघसंस्थासंग सम्झौतागरि सहकार्य गर्दै आएको विराट रानीका प्रमुख अस्पताल ब्यवस्थापक बस्यालले बताउनुभयो । सम्झौता अनुसार स्काउट स्वयंसेवकले स्वास्थ्य शिविर सञ्चालन, प्रचार–प्रसार, स्थानीय समन्वय र व्यवस्थापनमा सहयोग गर्नेछन् ।

शिविर सञ्चालनकालागि स्थान, खाना तथा बसोबासको व्यवस्था स्काउटले गर्नेछ । दुवै संस्थाले सम्झौताको कार्यान्वयन र प्रभावकारिता वार्षिक प्रतिवेदनमार्फत मूल्यांकन गर्ने सहमति पनि गरेका छन् ।

सम्बन्धित खबरहरु