यसबर्षको नवरात्रमा देवी दुर्गाको धर्तीमा आगमन र गमनमा प्रयोगहुने सवारीले मिश्रित संकेत गरेको धर्मशास्त्रीहरुले बताएका छन । यसबर्ष देवीको आगमन हात्तीमा भएको छ भने देवीको प्रस्थान डोलीमा हुने बताईएको छ ।

यसबर्ष २०८२ सालको दशैंमा देवी दुर्गाको आगमन हात्तीमा र गमन डोलीमा हुने धर्मशास्त्रीहरुले बताएका छन । हात्तीलाई बल, ऐश्वर्य र स्थिरताको प्रतीक मानिन्छ । यद्यपि देवीको हात्तीमा आगमन हुँदा बर्षा र पहिरोको संकेत समेत मिल्ने विश्वास गरिन्छ । यस्तै देवीको पालकी वा डोलीमा हुने गमनले सामुहिक एकताको प्रतिककारुपमा बिश्लेषण गरिएको छ ।

डोलीमा गमन हुनु परिवार, संस्कार र सामूहिक एकताको प्रतीकका रूपमा व्याख्या गरिन्छ । यसले पारिवारिक मिलन, सामाजिक सद्भाव र परम्परागत मूल्यमा बल पुग्ने संकेत गरेको श्रीकाली शक्तिपीठ विराटनगरका मुल पुजारी बिष्णुहरि दाहालले बताउनुभयो ।

दशैंमा देवी दुर्गाको आगमन, सवारी र गमनलाई ज्योतिषीय गणनाका आधारमा सुनिश्चित गरिन्छ । धार्मिक परम्परा अनुसार देवीको आगमन र गमन कुन सवारीमा हुन्छ भन्ने कुरा सामाजिक जीवनसँग जोडिएको शुभ–अशुभ संकेतको रूपमा व्याख्या गरिन्छ । मिथिला पञ्चाङ अनुसार यसपटक देवीको आगमनले मिश्रित फलको संकेत गरेको मैथिल पुरोहित पंकज ठाकुरले बताउनुभयो ।

धर्मशास्त्रअनुसार, देवी कुन बारमा आगमन गर्नुहुन्छ भन्ने आधारमा सवारी तोकिएको हुन्छ । सोमबार वा शुक्रबार आगमन भएमा–देवी हात्तीमा आउनुहुन्छ भन्ने विश्वास गरिन्छ, जसलाई समृद्धि र वर्षा–अनुकूलताको प्रतीक मानिन्छ ।

शनिबार वा मङ्गलबार आगमन भएमा–घोडामा आगमन हुन्छ, जसले गतिशीलता, संघर्ष र युद्धको संकेत गर्छ । बुधबार वा आइतबार आगमन भएमा नाउमा आउनुहुन्छ, जसले वर्षा, चपेटा र असुविधाको संकेत दिन्छ । बिहीबार आगमन भएमा डोलीमा आउनुहुन्छ, जसले सामाजिक, संस्कार र सामूहिक मेलमिलापलाई जनाउँछ ।

त्यसरी नै प्रस्थान पनि दशैंको अन्तिम दिन कुन वार पर्छ भन्ने आधारमा निर्धारण हुन्छ । यसपालि विजयादशमी बिहीबार परेकोले देवीको गमन डोलीमा हुने निश्चित भएको हो ।

देवीको आगमन र गमन केवल धार्मिक आस्थासँग मात्र होइन, समाज र प्रकृतिसँग सम्बन्धित शुभ–अशुभ संकेतका रूपमा पनि मानिने परम्परा रहिआएको छ ।

सम्बन्धित खबरहरु