आदिवासी जनजातिहरुले परम्परादेखी पुजापाठगर्दै आएका ग्रामथान लगायतका देवस्थलहरुको संरक्षणकानिम्ति बिशेष पहल गर्नुपर्ने आवश्यकता रहेको कटहरीमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन ।

नेपालका आदिवासीहरुको मानवअधिकार सम्बन्धि वकिल समुह (लाहुर्निप) को आयोजना तथा नेपाल आदिवासी जनजाती महासंघ गाउँ समन्वय परिषद सचिवालय कटहरी मोरङको आयोजनामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन ।

आदिवासीहरुको भूमि अधिकार र साँस्कृतिक भूमि संरक्षण सम्बन्धि सचेतनामुलक सो कार्यक्रममा बोल्ने वक्ताहरुले आदिवासी जनजातिका देवस्थलहरु दिनानुदिन मिचिदै गएकोमा चिन्ता ब्यक्त गरेका थिए ।

नेपाल आदिवासी जनजाती महासंघ गाउँ समन्वय परिषद सचिवालय कटहरीका पुर्व उपाध्यक्ष श्यामप्रसाद मण्डलले कटहरी गाउँपालिका टोल बस्तीहरुमा रहेका आदिवासीहरुले पुजापाठगर्ने अधिकांश ग्रामथान,मंझी थान र महाराजा थान लगायतका देवस्थलहरु स्कुलको नाममा मिचिएको बताउनुभयो ।

समन्वय परिषदका कटहरी अध्यक्ष दिलिप माझीले आदिवासीहरुले परापुर्व कालदेखी पुजापाठगर्दै आएको थानहरु मिच्ने प्रबृतिका कारण दिनानुदिन लोपहुदै गएको बताउनुभयो । उहाँले सांस्कृतिक पहिचानसंग जोडिएको देवस्थल लोप हुन नदिन तथा कसरी संरक्षण गर्न सकिन्छ भन्ने उपाय खोज्न कार्यक्रम गरिएको बताउनुभयो ।

नेपाल आदिवासी जनजाति महासंघ मोरङका अध्यक्ष दिलबहादुर थेबेले विभिन्न टोल बस्तीमा रहेका सबै देवस्थलहरु स्थानिय पालिकामा अविलम्ब सुचिकृत गर्नुपर्ने बताउनुभयो ।

लाहुर्निप नेपालका केन्द्रीय सचिव अधिवक्ता भिम राईले पछिल्लो समय लाहुर्निपले देशब्यापीरुपमा आदिवासीहरुको भूमि अधिकार र साँस्कृतिक भूमि संरक्षण सम्बन्धि सचेतनामुलक कार्यक्रम संचालन गरिरहेको जानकारी दिनुभयो । उहाँले आदिवासीहरुको भूमि,थातथलो तथा परम्पराहरु जोगाउन नसके आदिवासी नरहने र आदिवासी नरहे मुलुकको एउटा गहना गुम्ने धारणा समेत राख्नुभयो ।

कटहरीका अध्यक्ष देवराज चौधरीले आदिवासी जनजातिहरुको भूमि अधिकार तथा सांस्कृतिक भूमि सरंक्षणको बिषयमा पालिका सजग रहेको बताउनुभयो ।

उहाँले आदिवासीहरुको अधिकार सुनिश्चितगर्न ऐन,कानुन बनाउन भन्दै सर्वोच्च अदालतले समेत निर्देशनात्मक फैसला गरिसकेकाले पालिकाको चालु आर्थिक बर्षको रातो किताबको निति कार्यक्रममा उक्त बिषयलाई समेटिसकिएको जानकारी दिनुभयो । उहाँले मुलुकको ७५३ स्थानीयतह मध्ये रातो किताबमा निति तथा कार्यक्रम समेटने कटहरी नै पहिलो पालिका रहेको दाबी समेत गर्नुभयो ।

कार्यक्रममा कटहरीका उपाध्यक्ष सीतादेवी राजवंशी सहित विभिन्न जातिय संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो । कार्यक्रममा लाहुर्निपका सचिव राईले आदिवासी भूमी अधिकार शिर्षकमा कार्यपत्र समेत प्रस्तुत गर्नुभयो ।

सम्बन्धित खबरहरु