जेनजी आन्दोलनको क्रममा भारी क्षति बेहोरेको विराटनगर महानगरपालिका वडानम्बर ३ को कार्यालयलाई एक उपभोक्ताबादी संस्थाले २ थान प्रिन्टर प्रदान गरेको छ ।
विराटनगर ३ स्थित आदर्श उपभोक्ता संरक्षण समितिले विराटनगर ३ को वडा कार्यालयलाई दुईथान प्रिन्टर प्रदान गरेको छ । समितिको आदर्शचोकस्थित कार्यालय परिसरमा आयोजित कार्यक्रमकाबिच संस्थाका अध्यक्ष कृष्णकुमार सुवेदी र बरिष्ठ उपाध्यक्ष निर्मल पौडेलले वडाध्यक्ष बासुबहादुर बस्नेतलाई प्रिन्टर हस्तान्तरण गर्नुभयो ।
समितिले वडा कार्यालयलाई ब्रदर कम्पनीको रंगिन प्रिन्टर १ र क्याननको सादा प्रिन्टर १ थान प्रदान गरेको छ । प्रदान गरिएको प्रिन्टरहरुको मुल्य ५० हजार रहेको समितिका अध्यक्ष सुवेदीले बताउनुभयो ।
आन्दोलनको क्रममा उपकरण सहित भौतिक संरचनाहरुमा भारी क्षति बेहोर्नु परेपछि वडा कार्यालयको सेवा प्रवाह प्रभावित भएको देखेर समितिको तर्फबाट यथाशक्य जिन्सि सहयोग उपलब्ध गराईएको बरिष्ठ उपाध्यक्ष पौडेलले बताउनुभयो ।
सो अवसरमा बोल्नुहुँदै वडाध्यक्ष बस्नेतले आन्दोलनको क्रममा भएको तोडफोडका कारण वडाको सेवा अवरुद्ध रहेको बताउनुभयो । उहाँले लाखौं मुल्य बराबरको क्षति भएपनि उपकरण र फर्निचर मर्मत सम्भारका निम्ति वडा कार्यालय आफैंसंग सो शिर्षकमा बजेट रहेकाले समस्या भएको बताउनुभयो ।
उहाँले अप्रत्यासित घटना भएकाले महानगरपालिकासंग समेत त्यसप्रकारको बजेट नभएकाले अन्य शिर्षकबाट रकमान्तर गरेर भएपनि बजेटको जोहोगर्न आग्रह गरिएको बताउनुभयो ।
विराटनगर ३ का वडासचिव हरिप्रसाद गुरागाईले घटनाको क्रममा वडा कार्यालयमा झण्डै १० लाख मुल्य बराबरको क्षति भएको बताउनुभयो । आन्दोलनको क्रममा वडा कार्यालयको कम्प्युटर ४ थान,प्रिन्टर ३ थान,भाडामा ल्याईएको प्रोजेक्टर १ थान र खानेपानीको टंकी २ थान तोडफोड भएको जानकारी दिनुभयो ।
यस्तै आल्मुनियमका झ्याल २१ थान काठको र आल्मुनियमको समेत गरेर ९ थान ढोका, एसी ६ थानसहित कुर्सी र फर्निचरहरु नष्ट हुनुका साथै वडा कार्यालयमा रहेका मध्ये ८० प्रतिशत अभिलेख समेत नष्ट भएको जानकारी दिनुभयो ।
सचिव गुरागाईले मंगलबारबाट भने सेवा प्रवाहको तयारी गरिरहेको जानकारी समेत दिनुभयो ।